म्याग्दी ।
मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढीमूल्य बराबरको भेडा च्यांग्राको व्यापार भएको छ ।
दशैंका लागि मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका सहित जिल्लाभित्रका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडा च्यांग्राबाट ३६ करोड ५० लाख रुपियाँको हाराहारीमा कारोबार भएको छ ।
यसबर्ष मुस्ताङ जिल्लाका कृषकले ६ सय ७५ भेडा (च्यालुक),७ हजार २ सय १ च्यांग्रा बिक्री गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

त्यसैगरी मुगुबाट ५ सय, जुम्लाबाट ७ सय ७५, तिब्वत हुदै कोरला नाकाबाट ५ सय ५० र डोल्पा जिल्लाबाट ५ हजार ९ सय भेडा च्यांग्रा मुस्ताङ हुदै बाहिरिएको छ ।
मुस्ताङका किसानले रोज्जा, रोमा तथा सानाठूला भेडा च्याङ्ग्राको उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ४० हजारका दरले बिक्री गरेका छन् ।
सरदर मूल्यअनुसार ३६ करोडभन्दा बढीको भेडा च्यांग्राको बिक्री भएको केन्द्रका प्रमुख डा. अर्यालको भनाई छ । गत वर्षको तुलनामा करिब १ करोडभन्दा बढीको भेडा च्यांग्रा बिक्री भएको छ ।
मुस्ताङका भेडा च्यांग्रा पालक कृषक तथा छिमेकी जिल्ला म्याग्दी, कास्की, काठमाण्डौसहित देशका विभिन्न जिल्लाबाट गएका व्यापारीले बजारमा लगेर बिक्री गरेका छन् ।
मुस्ताङमा खरिद गर्न जाने ब्यापारीले कृषकबाट खरिद गरेको मुल्य लुकाउने गरेका छन् भने बजारमा रोज्जा भेडा च्यांग्रालाई ४० हजार रुपियाँभन्दा बढीमा बिक्री गर्ने गरेको पाइन्छ ।

सामान्यतः एउटा भेडाच्याङ्ग्रालाई मासु खानका लागि योग्य बनाउन ३ देखि ५ वर्षसम्म पाल्नुपर्ने अवस्थामा चरन, खोप तथा गोठालो सहित अन्य खर्च हुन्छ ।
चरनक्षेत्र र गोठालाको अभावले कृषकले बजारको माग अनुसार उत्पादन गर्न सकेका छैनन् ।
नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादनलाई प्रोत्साहन गरिएकाले मुस्ताङबाट बाहिरिने भेडा च्यांग्रा उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।
दशैंपछि तिहारका लागि समेत करिब ४ देखि ५ हजार भेडा च्यांग्रा बाहिरिने अनुमान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्राले विषेश गरी जडीबुटी खाएर हुर्केकोे हुँदा स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने उपभोक्ताको बुझाई छ ।
प्रकाशित मिति २०८२ असोज १२ गते आइतबार ११:४२




