काठमाडौं ।
युवा ब्याटर शुभमन गिल भारतको ओडिआई टोलीको पनि कप्तान नियुक्त भएका छन्। उनले अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको ओडिआई सिरिजमा नेतृत्व जिम्मेवारी सम्हाल्नेछन्।
यो गिलको पहिलो ओडिआई कप्तानी सिरिज हुनेछ। यसअघि उनले टेस्ट र टी–२०आई टोलीको नेतृत्व गरिसकेका छन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई०ले ओडिआई सिरिजपछि हुने पाँच खेलको टी–२०आई सिरिजका लागि पनि टोली घोषणा गरेको छ।
रोहित शर्मा कप्तानबाट हटाइए पनि उनी र विराट कोहली दुवै ओडिआई टोलीमा फर्किएका छन्। यी दुवै खेलाडी यस वर्ष मार्चमा भएको च्याम्पियन्स ट्रफी फाइनलपछि पहिलो पटक भारतीय टोलीमा फर्किएका हुन्। श्रेयस अय्यरलाई उप–कप्तान बनाइएको छ।
२६ वर्षीय गिलको ओडिआई कप्तानी अनुभव सीमित छ। उनले अहिलेसम्म लिस्ट–ए क्रिकेटमा छ पटक कप्तानी गरेका छन्, जसमा पाँच खेलमा जित र एकमा हार भोगेका छन्।
यसअघि उनले टेस्ट टोलीको कप्तानी गर्दै इङ्ल्यान्डविरुद्ध २–२ सिरिज बराबरी गरेका थिए । भर्खरे सम्पन्न वेस्ट इन्डिजलाई एक इनिङ र १४० रनले पराजित गरेका थिए।
गिलले हालसम्म ५५ ओडिआई खेलेका छन् र २७७५ रनसहित आठ शतक प्रहार गरेका छन्।
प्रकाशित मिति २०८२ असोज १८ गते शनिबार ०६:०३




