पोखरा ।
आईसीसी टी–२० विश्वकप छनोट खेल सुरु हुनुअघिको वार्मअप म्याचमा नेपालले ओमानलाई हराएको छ ।
हिजो भएको पहिलो वार्मअप खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको हो ।
ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले ६१ रन जोडे । रोहित पौडेलले २५ र कुशल भुर्तेलले ११ रन बनाए ।
कुशल मल्ल १० र सन्दीप जोरा एक रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली ओमानले नौ विकेट गुमाएर एक सय १० रन बनाएको थियो ।
ओमानलाई हराउन सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए ।
आईसीसी टी–२० विश्वकप छनोटका खेल सुरु हुनुअघि नेपाली क्रिकेट टोलीले ओमानमै दुई अभ्यास खेल खेलिरहेको हो ।
ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले अब अर्को वार्मअप खेल सोमबार कतारसँग खेल्नेछ ।
कतार र नेपालबीचको खेल भोली अपरान्ह सवा ४ बजेदेखि सुरु हुनेछ ।
आईसीसी टी–२० विश्वकपको एशिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा छ ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर ६ मा छनोट हुनेछ ।
सुपर ६ को शीर्ष तीन टिमले अर्को वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।
प्रकाशित मिति २०८२ असोज १९ गते आइतबार ०९:०५




