पोखरा ।
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि नेपाली क्रिकेट टोलीले जित हासिल गरेको छ ।
सोमबारसम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले हराएको हो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
कतारका मुहम्मद तनविरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए । नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।
ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए ।
कतारका मुनिर साद र इक्रमुल्लाह खानले २–२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १–१ विकेट लिए ।
यसअघि शनिबार भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।
टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।
सुपर–सिक्समा छ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
प्रकाशित मिति २०८२ असोज २१ गते मंगलबार ०९:०३




