कुवेत ५८ रनले पराजीत, अब नेपालले भोलि जापानसँग खेल्ने
पोखरा ।
आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ ।
अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा हिजो भएकोसमूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
नेपालले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर एक बलमा ८३ रनमा अलआउट भयो ।
कुवेतका क्लिन्टो एन्टोले २६ र यासिन इशाक पटेलले १९ रन बनाए ।
नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई तथा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले सात विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो ।
नेपालका कुशल भुर्तेलले ६६ तथा दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले समान २० रन बनाए ।
कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले समान दुई तथा मोहम्मद अकिफ फारुक र मोहम्मद असलमले समान एक विकेट लिए ।
यो जीतसँगै समूह ‘बी’मा रहेको नेपालले महत्त्वपूर्ण दुई अंक जोडेको छ । अब नेपालले भोलि जापानसँग खेल्नेछ ।
समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।
सुपर–सिक्समा छ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
प्रकाशित मिति २०८२ असोज २३ गते बिहीबार ०९:०३




