काठमाण्डौ ।
नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको घेटघाट कार्यक्रममा बोल्दै ओलीले यस्तो जिकिर गरेका हुन् ।
वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क थियो । सरकारले आफूलाई काठमाण्डौ भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए ।
अध्यक्ष ओलीले गृह मन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न सचेत गराए ।
ओलीले भने ‘यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको भए थाहा छैन । कसैले छानेको सरकार होइन यो । उहाँहरु एउटा खास उदेश्यले काम गरिरहनुभएको छ, मेरो पासपोर्ट रोक्का गर्ने ? अर्को तमासा के गर्नु भयो भने काठमाण्डौ भ्याली बाहिर जान नपाउने ? केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्ला पटी हेर्न पाईने कि नपाइने । त्यो पनि थाहा छैन । यो तमासा नभए, सडक तमासा नभए के हो यो ? सुशीला कार्कीको ड्रले केपी ओली भाग्छ ? के सोच्या ? अहिलेको गृह मन्त्रीको त मैले नाम पनि सुनेको थिइन । गृहमन्त्री बाबुलाई धेरै नउत्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’




