काठमाण्डाै
ओमानमा चलिरहेको आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा जापानले नेपाललाई १ सय ३२ रनको लक्ष्य दिएको छ ।
अलि अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । जापानका कप्तान केन्डल फ्लेमिङले सबैभन्दा धेरै ६० रन बनाए । नेपालका सन्दीप लामिछाने र गुल्सन झाले २/२ तथा साेमपाल कामी र नन्दन यादवले १/१ विकेट लिए ।
छनोटको समूह ‘बी’ मा रहेका नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर–सिक्समा पुगिसकेका छन् ।
कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ । यो खेल जित्ने टोली समूह विजेता बन्नेछ र सुपर–सिक्सअघि नै २ अङ्क हुनेछ । समूह चरणमा प्रतिस्पर्धा गरेर सुपर–सिक्समा पुगेका दुई टोलीले फेरि सुपर–सिक्समा खेल्नु पर्दैन ।
टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली सुपर–सिक्समा पुग्नेछन् । सुपर–सिक्समा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार ०६:१०




