२०८३ साउन २१ गते बिहीबार

शहीद स्मारक ए डिभिजन लिगका क्लवले भनेः होम एन्ड अवे फरम्याटमा खेल्न तयार छैनौँ

शहीद स्मारक ए डिभिजन लिगका क्लवले भनेः होम एन्ड अवे फरम्याटमा खेल्न तयार छैनौँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २५ गते शनिबार ०७:५९

समितिलाई आर्थिक, कानुनी, निष्पक्ष तथा व्यवस्थित तरिकाले लिग व्यवस्थापन गर्न अधिकार दिनुपर्ने क्लबहरुको माग छ ।

काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिगका क्लवहरूले होम एन्ड अवे फरम्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार नरहेको बताएको छ ।

ललितपुरको कुपण्डोलमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै शीर्ष डिभिजनका नौ वटा क्लबले छोटो समयको तयारीबाट होम एन्ड अवे फरम्याटमा लिग गर्नु आफूहरूका लागि मान्य नहुने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगबारे छलफल गर्न बोलाइएको बैठकअघि नै सशर्ष डिभिजनका ९ क्लबले पत्रकार सम्मेलन गर्दै दबाब दिएको हो ।

शीर्ष डिभिजनका ९ क्लबले लिग व्यवस्थापन र संरचनामा व्यापक सुधारको माग गरेका छन् ।

एन्फाले गत असोज ४ गते पत्रमार्फत शीर्ष डिभिजनका क्लबलाई असोज २६ गते लागि बैठक बोलाएको छ। तर, त्यो बैठक अगाडि नै क्लबहरूले एन्फाले आयोजना गर्न लागेको लिगमा व्यापक सुधार आवश्यक रहेको माग गरेका छन् ।

एन्फाले आगामी पुसदेखि सहिद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेको छ । त्यसका लागि एन्फाले केही तयारी पनि अगाडि बढाइसकेको छ । सोही बैठक अगाडि १४ मध्ये नौवटा क्लबले लिगमा व्यापाक सुधारको माग राख्दै जवाफ दिएका छन् ।
आइतबारको बैठकमा शहीद स्मारक ‘ए’ डिभिजन लिग र जेनजी आन्दोलनका कारण रोकिएका अन्य प्रतियोगिताहरू सुचारु गर्ने विषयमा छलफल गर्दैछ ।

सो बैठकमा एन्फा यु–१६ युथ लिगका बारे पनि छलफल हुनेछ । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा न्युरोड टिम (एनआरटी), फ्रेन्ड्स क्लब, श्री भगवती क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मछिन्द्र क्लबका पदाधिकारीको उपस्थिति थियो ।

क्लबहरुले नेपाली फुटबलमा व्यावसायिकता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न एन्फाले आधारभूत मुद्दाहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । क्लबहरुले एन्फालाई एसियाली फुटबल महासंघ (एएफसी)सँग समन्वय गरि लिग सञ्चालन गर्न पूर्ण अधिकारसहितको स्वतन्त्र लिग समिति गठन गर्न आग्रह गरेका छन् ।

समितिलाई आर्थिक, कानुनी, निष्पक्ष तथा व्यवस्थित तरिकाले लिग व्यवस्थापन गर्न अधिकार दिनुपर्ने क्लबहरुको माग छ ।

त्यस्तै क्लबहरुले एन्फाले लिग आयोजना गर्नुभन्दा पहिले उचित पूर्वाधारमा सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै ‘होम एन्ड अवे’ खेलका बारेमा स्पष्ट प्रावधान माग गरेका छन् । एन्फाले एएफसी र एन्फा स्वयमको मापदण्ड अनुरुप कम्तिमा १० वर्षको लागि घरेलु मैदानको कानुनी अधिग्रहणलाई सहज बनाउन माग गरेका छन् ।

क्लबहरुको जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार क्लबहरुलाई ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउन र शीर्ष ६ भित्र अटाउने क्लबहरुको पुरस्कार रकम बढाउने माग पनि उल्लेख गरिएको छ । यसैगरी सम्बन्धित सरकारी निकायहरुसँगको समन्वयमा नेपालको कानूनअन्तर्गत ‘म्याच फिक्सिङ’ र सट्टेबाजी जस्ता आपराधिक कार्यलाई कडाईका साथ रोक्न आधिकारिक निकाय गठन गर्ने प्रश्ताव पनि क्लबहरुले गरेका छन् ।

एएफसी क्लब लाइसेन्स मापदण्डहरु पूरा गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै एन्फालाई लिग सुरु हुनुभन्दाअघि नै सबै १४ टोलीले आवश्यक मापदण्डहरु पूरा गर्न सक्ने वातावरण सिर्जना गर्न क्लबहरुले आग्रह गरेका छन् । यसबीच सहभागी सबै टोलीसँग परामर्श र सहमतिपछि मात्र लिग ‘मोडेल’ र प्रतिस्पर्धाका नियमहरुलाई अन्तिम रूप दिन जोड दिइएको छ ।

प्रकाशित मिति २०८२ असोज २५ गते शनिबार ०७:५९
हजुरको प्रतिक्रिया