२०८३ साउन २१ गते बिहीबार

टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग खेल्दै

टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २६ गते आइतबार ०९:०२

नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्नेछ ।

पोखरा ।

आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन् ।

नेपालले आज युनाइटेड अरब इमिरेट्स युएई विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

यो खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयानुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा प्रवेश गरेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो भने दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

युएईविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

युएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा पुगेको हो ।

समूह ‘ए’मा युएईले कतारलाई सात विकेटले हराएको थियो भने मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्नेछ ।

सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।

यसपछि नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्ने छ ।

बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने तालिका छ ।

नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर सिक्समा जापानी टोलीसँग खेल्न पर्ने छैन ।

यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति २०८२ असोज २६ गते आइतबार ०९:०२
हजुरको प्रतिक्रिया