२०८३ साउन २१ गते बिहीबार

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २६ गते आइतबार ०९:४४

तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर मागअनुसार फूल उत्पादन किसानले भने उचित मूल्य पाउन सकेका छैनन् ।

काठमाडौं ।

नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ ।

तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् ।

गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् ।

किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे पछिल्लो तीन÷चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनले बताए ।

उनकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको छ ।

किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताइन् ।

२० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् । उनले मालाको मूल्य निधारण गर्न पनि सरकारसँग माग गरिन् ।

सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

उनले यहाँका किसानले मागअनुसार फूलको उत्पादन गरेको पनि दाबी गरिन् ।

उनका अनुसार मखमली फूलको बीउमा समेत समस्या छ । किराले काट्ने, धेरै पानी परेमा नउम्रिने, कुहिने लगायतको समस्या हुने उनको भनाई छ ।

त्यस्तै अर्की किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताइन् । माला लिनको लागि व्यापारीहरु घरमा नै आउने उनको भनाई छ ।

उनले यसवर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिइन् । उनले गत साल दुई हजार माला बेचेकि थिइन् ।

राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण गर्नपर्नेमा जोड दिए । मालाको निर्धारित मूल्यदर नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको उनीहरुको गुनासो छ ।

फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । उनीहरुले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या खडा भएको बताएका छन् ।

 

 

 

प्रकाशित मिति २०८२ असोज २६ गते आइतबार ०९:४४
हजुरको प्रतिक्रिया