२०८३ साउन २१ गते बिहीबार

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २८ गते मंगलबार ०८:३१

पोखरा — सन्दीप लामिछानेको घातक बलिङमा प्रेरित नेपालले आइसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा कतारलाई ५ रनले पराजित गरेको छ। ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर...

पोखरा —

सन्दीप लामिछानेको घातक बलिङमा प्रेरित नेपालले आइसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा कतारलाई ५ रनले पराजित गरेको छ।

ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकसहित ९ विकेट गुमाउँदै १४७ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। जवाफी इन्इङ्समा कतारले १४८ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा १४२ रनमै सीमित रह्यो।

सात ओभर बाँकी रहँदा जितका लागि ४३ रन आवश्यक कतार सहज अवस्थामा देखिँदै थियो। तर, सन्दीप लामिछानेको उत्कृष्ट स्पेलपछि खेल रोमाञ्चक मोडमा पुग्यो। उनले १०औं ओभरमा पहिलो विकेट दिलाउँदै लय बनाएका थिए।

अन्तिम ओभरमा जितका लागि कतारलाई १० रन आवश्यक हुँदा कप्तान रोहितले सन्दीपलाई अन्तिम ओभर सुम्पे। सन्दीपले लगातार ‘डट’ बल फ्याँकेर दबाब सिर्जना गरे र तेस्रो बलमा आमिर फरुकलाई स्टम्प आउट गराए। अन्तिम बलमा सात रन चाहिएको कतारले लक्ष्य पार गर्न सकेन।

सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ५ विकेट लिए। नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

नेपालका लागि रोहित पौडेलले ५८, दीपेन्द्रसिंह ऐरिले २६, गुल्सन झाले दुई छक्कासहित १६ र सोमपाल कामीले १४ रनको योगदान गरे। कतारका मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चरले समान तीन–तीन विकेट लिए।

यस जितसँगै नेपाल ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। भोलि ओमानलाई पराजित गर्न सके नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ।

नेपालले यसअघि जापानलाई ५ विकेट र युएईलाई १ रनले हराएको थियो। नेपालले आफ्नो अन्तिम खेल शुक्रबार समोआसँग खेल्नेछ।

प्रकाशित मिति २०८२ असोज २८ गते मंगलबार ०८:३१
हजुरको प्रतिक्रिया