पोखरा ।
नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।
बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको हो ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेको एमालेले जनाएको छ ।
पहिलो दिन बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्दै छन् ।
आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ ।
यस हिसाबले भोलि शुक्रबार बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरुले बताएका छन् ।
बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रबन्ध गरिएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टोतिर (ज्ञ बाट) पालो मिलाइएको छ ।
हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्नेछन् ।
अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको एकमुष्ट जवाफ दिने तयारी छ ।
प्रकाशित मिति २०८२ असोज ३० गते बिहीबार १०:१५




