नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रंदै
पोखरा ।
आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज सामोआसँग खेल्दैछ ।
एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटबाट दुई खेलअघि नै आइसिसी टी-२० विश्वकपमा छानिएको नेपालले च्याम्पियन बन्ने लक्ष्यसहित आज सामोआसँग खेल्दैछ ।
खेल ओमानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
सामोआलाई हराएमा नेपाल एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बन्ने छ । नेपाल र सामोआबिच पहिलो पटक भिडन्त हुन लागेको हो ।
यो प्रतियोगितामा अपराजित एक मात्र टिम नेपाल सुपर सिक्समा आठ अंकसहित शीर्ष स्थानमा रहेको छ भने घरेलु टिम ओमान ६ अंकसहित दोस्रो स्थानमा छ ।
अन्तिम दिन आज ओमानले पनि जापानको सामना गर्दैछ ।
आज ओमानको जित र सामाओविरुद्ध नेपालको हार भएमा भने रनरेटको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ ।
बुधबार घरेलु टिम ओमानलाई ३८ रनले हराएपछि नेपालका कप्तान रोहित पौडेलले आफ्नो टिमको नजर ट्रफीमा रहेको बताएका छन् ।
उनले आफूहरुले मेहनत गरे अनुसार नतिजा प्राप्त गरेको पनि बताए ।
टी–२० विश्वकपको १० औँ संस्करण सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
एसिया तथा इष्ट एसिया प्यासिफिक छनोटमा सहभागी ९ मध्ये नेपाल, ओमान र यूएईले विश्वकपको यात्रा तय गरेका छन् ।
प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार ०९:२१




