काठमाडौं ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन् ।
शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल भएको पनि बताए । उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौति र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभुति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाल प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने स्पष्ट समेत पारे । विभिन्न ९ सय ३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको जानकारी गराउँदै यसको पूर्तिका लागि २५ हजार भन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए ।
उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको जिकिर गर्दै प्रहरीभित्र पनि शुद्धिकरण र सुधारका प्रशस्त आवश्यकताहरु रहेको बताए । नागरिकले तिरेको करबाट खरिद गरिएको पोशाक लगाएर नागरिकमाथि हुने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने उनको भनाई थियो ।
प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार ११:५८




