अपराजित रहे ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जित्ने
विश्वकपमा प्रवेश पाउने सुनिश्चित भइसकेको नेपाल जारी प्रतियोगिताको ‘सूपर सिक्स’को शीर्ष स्थानमा छ। समोआ भने पुछारमा छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले समोआसँग खेल्न लागेको यो पहिलो पटक हो।
नेपाल जारी छनोट प्रतियोगितामा एकमात्र अपराजित टोली बन्दै रहँदै विश्वकपमा पुग्ने ध्याउन्नमा छ।
नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ ।
दबावविहीन खेल भएकाले नेपालले यो खेलका लागि टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ। जारी प्रतियोगितामा अहिलेसम्म नखेलेका करण केसी खेल्न सक्ने छन्। त्यस्तै लोकेश बम र आदील आलम पनि पहिलो रोजाइमा पर्न सक्छन्। यस्तोमा कुशल मल्ल र सन्दीप जोराले विश्राम पाउन सक्छन्।
करण केसीले अवसर पाए सोमपाल कामी वा नन्दन यादवमध्ये एक जनाले खेल्न पाउने छैनन्।
नेपालले पहिलाेपटक खेल्न लागेको समोआ कस्ताे टाेली हाे ?
विश्वकप छनोटमा पुगेर परिचय थप्दै गरेको समोआको चर्चा न्यूजील्यान्डका चर्चित खेलाडी रोस टेलरले समोआबाट विश्वकप खेल्ने घोषणा गरेपछि चुलिएको हो। समोआमा जन्मिएका टेलर न्यूजील्यान्डका सर्वकालिक विशिष्ट ब्याटरमा पर्छन्। उनले ११२ टेस्ट, २३६ एकदिवसीय अन्तर्राष्ट्रिय र १०६ टी-२०आई खेलिसकेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप छनोट २०२६ को लागि एशिया र पूर्वी एशिया प्यासिफिकलाई एउटै ठाउँमा राखेर छनोट प्रतियोगिता गराउने भएपछि यो भेट सम्भव भएको हो। आईसीसीले विगतमा विश्वकपमा सहभागी हुन एशियाका लागि दुई स्थान र पूर्वी एसियाका लागि एक स्थान छुट्ट्याउँथ्यो।
सोहीअनुरूप गत अमेरिका/वेस्ट इन्डिज विश्वकपमा एशियाबाट नेपाल र ओमान तथा पूर्वी एशियाबाट पपुवा न्यूगिनी (पीएनजी) पुगेका थिए। अहिले दुवै क्षेत्रलाई जोडेर संयुक्त छनोट आयोजना गर्दै तीन स्थान छुट्ट्याइएको छ। त्यसबाट एशियालाई फाइदा भयो भने पूर्वी एशियालाई नोक्सान हुन पुग्यो।
जारी छनोटबाट नेपाल, ओमान र यूएई गरी एशिया क्षेत्रबाट तीन राष्ट्र छनोट भइसकेका छन्। तर गत विश्वकप खेलेको पीएनजी जारी छनोट प्रतियोगिताको सूपर सिक्समा पनि पुग्न सकेन।
पूर्वी एशियाको तुलनामा एशियाली राष्ट्रहरू बलिया र विश्वकपमा प्रतिस्पर्धा गर्न सक्षम देखिएकाले आईसीसीले यो संरचना बनाई एशियालाई मौका दिइएको चर्चा हुने गरेको छ। एशियामा नेपाल, ओमान, यूएई, हङ्कङ अनि मलेशिया र कुवेतजस्ता उदाउँदा टोली छन्।
पूर्वी एशियामा भानआटू, दक्षिण कोरिया, जापान, फिजी, टिमोर लिस्टे, फिलिपिन्स, इन्डोनेशिया, कुक आइल्यान्ड्सजस्ता राष्ट्र छन्। तिनलाई तुलनात्मक रूपमा एशियाली राष्ट्रका क्रिकेट टोलीभन्दा कमजोर मानिन्छ।
समोआ दक्षिण प्रशान्त महासागरमा अवस्थित एउटा टापुराष्ट्र हो। त्यहाँको जनसङ्ख्या दुई लाख १८ हजारजति छ। समोआमा पहिलेदेखि नै क्रिकेट खेलिने गरेको भए पनि यो राष्ट्र अन्तर्राष्ट्रिय क्रिकेटमा उदाएको भने धेरै वर्ष भएको छैन।
सन् १९६४ देखि यसको क्रिकेट खेल्न थालेको इतिहास छ। तर सन् २००० मा आईसीसीको अफिलिएट सदस्य बन्यो भने सन् २०१७ मा मात्र आईसीसीको असोसिएट सदस्यता प्राप्त गरेको थियो। सन् २०१९ पछि भने यसले टी-२० आई को हैसियत प्राप्त गर्यो।
समोआले पहिलो आधिकारिक टी-२० आई २०१९ मा प्यासिफिक गेम्सका बेला पपुवा न्यूगिनीविरुद्ध खेलेको थियो। त्यसपछि लगातार क्रिकेट खेल्दै हाल विश्वकप छनोट प्रतिस्पर्धासम्म उक्लिएको हो।
रग्बी समोआको प्रमुख खेल हो। तर पछिल्लो समय समोआका प्रधानमन्त्रीले समोआ अन्तर्राष्ट्रिय क्रिकेट सङ्घको संरक्षक बन्दै टोलीलाई सहयोग गरेपछि क्रिकेटमा प्रगति हुन थालेको हो।
आफ्नै घरमा पूर्वी एशिया प्यासिफिक क्षेत्रीय छनोट ए प्रतियोगिताको आयोजना गरेर शीर्ष स्थानमा रहेर समोआ विश्वकप छनोटमा पुगेको हो। गत वर्ष अगस्टमा आयोजित उक्त छनोटमा कुक आइल्यान्ड्स, फिजी र भानुआटूले भाग लिएका थिए।
डबल राउन्ड रोबिन लीगको आधारमा भएको उक्त छनोटमा समोआ र कुक आइल्यान्ड्स दुवैले समान ६ अङ्क ल्याए पनि नेट रन रेटको आधारमा अग्रता बनाउँदै समोआ छनोट भयो। रमाइलो कुरा के हो भने छनोटमा समोआ कुक आइल्यान्ड्स सँग ७ विकेट र ८ विकेट गरी दुवै पटक पराजित हुन पुगेको थियो। तर भानुआटूलाई १० रन र ८ रन तथा फिजीलाई ७३ रन र ३६ रनले पराजित गरेपछि टोलीले ८ अङ्क बटुल्यो। कुक आइल्यान्ड्स भने फिजीसँग दुवै खेलमा पराजित हुन पुग्दा समोआसँग अङ्क बराबरी हुन पुगेको थियो।
समोआको नेट रन रेट +१.२७ थियो भने कुक आइल्यान्डको – ०.००८ थियो।

विश्वकप छनोट चरणको सूपर सिक्ससम्म पुग्नुलाई समोआको उपलब्धि नै मानिएको छ।
समूह ‘सी’मा ओमान र पपुवा न्यूगिनीसँगै रहेको समोआ ओमानसँग ५२ रनले पराजित भयो। तर पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेपछि टोली सूपर सिक्समा उक्लियो। पपुवा न्यूगिनीले गत विश्वकपमा पूर्वी एशिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गरेको थियो।
सूपर सिक्समा भने समोआले खेलेको तीनवटै खेल हारिसकेको छ।
यूएई सँग ७७ रन र कतारसँग ८ विकेटले पराजित समोआले जापानसँग भने प्रतिस्पर्धात्मक खेलमा ४ रनले मात्र पराजित हुन पुगेको थियो।
नेपालसँगको अन्तिम खेलपछि समोआ यसपालिका लागि विश्वकपको यात्राबाट बाहिरिने छ।
यस छनोट प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जित्नेछ ।
प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार ०२:५३




