पोखरा ।
आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने ओडिआई शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।
शनिबार नेपाल क्रिकेट संघ क्यानले युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ । लिग २ शृंखलाका लागि नेपाली टोली युएई पुगिसकेको छ ।
ट्वान्टी-२० राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई प्रतिस्थापन गर्दै अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा बोलाएका छन् ।
शृंखलामा नेपालले घरेलु टोलीसँगै अमेरिकासँग दुई लेग खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ ।
त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।
नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने छन् ।

लिग–२ को अंकतालिकामा नेपाल अहिले १२ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा छ ।
समान खेलबाट मात्र ६ अंक जोडेको युएई पुछारमा रहँदा अमेरिका २० खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा छ ।
लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् ।
शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।
प्रकाशित मिति २०८२ कात्तिक ३ गते आइतबार ०९:०४




