स्याङ्जा ।
स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो पुतलीखेत–सतौं भित्री पक्की सडकअन्तर्गत पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि उनलाई तत्काल जिल्ला अस्पताल स्याङ्जा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
४५ वर्षीय लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख थिए। उहाँको स्थायी घर स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा रहेको छ।
लम्सालको निधनले कृषिक्षेत्रमा ठूलो क्षति पुगेको किसानदेखि कृषि विज्ञहरूले बताएका छन्। गण्डकी प्रदेशका पूर्व कृषि मन्त्री लेखबहादुर थापा मगरले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै गण्डकी प्रदेशले एक होनहार, इमानदार र समर्पित कृषि प्राविधिक गुमाएको बताएका छन्।
उनको निधनको खबरले कृषिक्षेत्रका कर्मचारीदेखि कृषकसम्मलाई स्तब्ध पारेको छ। सहयोगी, सरल र सबैसँग आत्मीय सम्बन्ध राख्न सक्ने व्यक्तित्वका रुपमा चिनिने लम्सालको असामयिक निधनप्रति कृषक समुदायले गहिरो दुख व्यक्त गरेका छन्।
प्रकाशित मिति २०८२ कात्तिक ९ गते शनिबार ०१:२५




