म्याग्दी ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कात्तिक महिनाको पहिलो सातामै ३ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।
सीमित स्रोत साधनबीच भन्सार कार्यालयमा कार्यरत कर्मचारीको खटाइले कात्तिक ४ गतेसम्म ३ अर्ब १४ करोड ४३ लाख ६ हजार ४ सय १ रुपियाँ राजस्व संकलन गरेको हो ।
लिजी–नेचुङ नाका (कोरला) मा तिब्वतको ढोङ्वासेन हुँदै आएका विद्युतीय (ईभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, कस्मेटिक लगायतका सामग्रीबाट उक्त राजस्व संकलन गरिएको छ ।
भन्सार कार्यालयलाई थप प्रभावकारी बनाउन भौतिक संरचना सहित जनशक्ती ब्यवस्थापन र चिनियाँ कन्टेनर नेचुङसम्म आउने वातावरण बनाउनुपर्ने भन्सार प्रमुख रमेश खड्काले बताए ।
पूर्णरूपमा सञ्चालन भएको भन्सार कार्यालयले १४ सय ९८ विद्युतीय (ईभी) गाडी, पैठारीतर्फ ६ सय ५७ कन्टेनरसहित मालबाहक ढुवानी साधन जाँचपासका साथै निकासीतर्फ ७ मा ट्रक ढुवानी भएको जनाएको छ ।
समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा चिसोका कारण सामान ढुवानी गर्न जाने सवारीसाधनलाई समस्या भइरहेको छ ।
वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका गएको भदौ महिनाको ३० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।
चिनियाँ भन्सार कार्यालयले अत्याधुनिक मेसिनसहितका उपकरणहरू जडान गरी भन्सार कार्यालय सञ्चालन गरे पनि नेपालमा भने पूरानो भवनबाट सेवा प्रवाह भइरहेको छ ।
कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा जनशक्ती सहितको ब्यवस्थापनले निर्यात तथा आयातकर्तालाई सहज भएको छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो ।
कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न दुईसय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ ।
प्रकाशित मिति २०८२ कात्तिक १० गते आइतबार १०:०४




