काठमाण्डौ
नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर माेटरसाइकल ‘टू ह्विलर पार्टनर’ बनेको छ ।
आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुप र नेपाल क्रिकेट सङ्घ(क्यान)बीच सम्झौता भएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ । सबैभन्दा धेरै रन बनाउने ब्याटर, सबैभन्दा धेरै विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै पल्सर मोटरसाइकल सधैँ खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड भएकाले एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप उर्जा र प्रेरणा मिल्ने विश्वास लिएको बताए ।
नेपाल क्रिकेट सङ्घ(क्यान)का सचिव पारस खड्काले पल्सरसँग सहकार्य गर्नु नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए । उनले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको भन्दै केही दिनभित्रै पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्ने धारणा राखे । नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मंसिर १ गतेदेखि शुरु हुनेछ ।
प्रकाशित मिति २०८२ कात्तिक १४ गते बिहीबार ०५:१७




