पोखरा ।
आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।
यो खेल दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुँदैछ ।
जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो ।
त्यस्तै दोस्रो खेलमा नेपाल बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।
नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ ।
लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । त्यस्तै यूएई १८ खेलमा ८ अंकसहित पुछारमा छ ।
यूएईमा नेपाल, घरेलु टोली र अमेरिकाबीच लिग–२ अन्तर्गतको श्रृंखला चलिरहेको छ ।
नेपालले यूएईमा भैरहेको श्रृंखलाको अन्तिम खेल आउँदो बुधबार घरेलु टोलीसँग खेल्नेछ र त्यसपछि टोली स्वदेश फर्कनेछ ।
प्रकाशित मिति २०८२ कात्तिक १६ गते शनिबार ०९:२६