काठमाडौं ।
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ ।
लगातार ३ खेल जितेको ललितपुरलाई अंक तालिकाको पुछारमा रहेको पोखरा निन्जाजले ३–० को सोझो सेटको हार चखायो पोखराको यो पहिलो जित हो ।
फाइनलमा पुग्ने संभावना समाप्त भैसकेको पोखराले ४ खेलबाट ४ अंक जोडेको छ । ललितपुरसँग ४ खेलबाट ९ अंक बनाएको छ ।
सानदार प्रदर्शनका साथ लिगको सुरूवात गरेको ललितपुर विदेशी खेलाडी नहुँदा निकै कमजोर देखियो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलको पहिलो सेटमा अघिसम्म अपराजित रहेको ललितपुर क्विन्सलाई पोखरा निन्जाजले दबाबमा राख्यो । संगठित प्रदर्शन गरेको पोखराले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो। यसअघि लगातार ३ खेल जितेको ललितपुरले भने पहिलो पटक यो सिजन सेट गुमायो ।
दोस्रो सेटमा पनि पोखराले पकड बनायो। १६–७ ले अघि बढ्दै ९ अंकको स्पष्ट अग्रता बनायो । यो सँगै बिना दबाब पोखराले दोस्रो सेट सहजै २५–१३ ले जित्यो। पोखराले २–० को अग्रता बनायो ।
तेस्रो सेटमा पनि ललितपुर खेलमा फर्कन सकेन् । निरिह ललितपुरलाई २५–२० ले माथ दिंदै पोखरा तेस्रो सेट आफ्नो पक्षमा पार्न सफल रहयो ।
यसअघि आज भएको पहिलो खेलमा कर्णाली याशविस मधेश युनाइटेडलाई ३–० ले हराउँदै एक खेल अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रकाशित मिति २०८२ कात्तिक २७ गते बुधबार ०७:५३




