म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिमा विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बिहीबारदेखि बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न २७ विद्यालयले सहभागिता जनाएका छन् ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले प्रगियोगिताको उद्घाटन गर्दै प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिभाको पहिचानसँगै अवसर दिनुपर्ने बताइन् ।
प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रिय स्तरमा पु¥याउन सहयोग पुग्ने उनको भनाइ छ ।
तीन दिनसम्म हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न तीन सय ७८ इभेन्टमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने नगरपालिका शिक्षा शाखा अधिकृत कमलप्रसाद ढकालले जानकारी दिए ।
उनकाअनुसार प्रतियोगितामा करिब ८ सय खेलाडी विद्यार्थीको सहभागिता छ ।
प्रतियोगितामा विजेतालाई ५१ हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ४० हजार र ३० हजार रुपियाँको साथमा ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
नगरस्तरमा सञ्चालन भएका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा खेलप्रतिभाको विकासका लागि र राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न प्रतियोगिताले टेवा पुग्ने बताए ।
प्रकाशित मिति २०८२ कात्तिक २८ गते बिहीबार ०८:०६




