पोखरा ।
गण्डकी प्रदेश प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको निधन भएको छ ।उनको आइतबार राति हृदयघातका कारण ५७ वर्षको उमेरमा निधन भएको हो दवाडी नेपाली पर्यटन र साहसिक खेलकुद विकासका अग्रणी व्यक्तित्वमध्ये एक मानिन्थे। नेपाललाई प्याराग्लाइडिङ खेलकुदमार्फत अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेका दवाडी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य तथा नेपाल हवाई खेलकुद संस्थाका सहसंस्थापक समेत रहेका थिए ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई प्याराग्लाइडिङ केन्द्रका रूपमा प्रवद्र्धन गर्ने अभियानमा उनको विशेष योगदान रहेको थियो। उनकै पहलमा एक वर्षअघि सफल परीक्षण उडान सम्पन्न भएपछि त्यस क्षेत्रलाई वैकल्पिक गन्तव्यका रूपमा चिनाउने काम अघि बढाइएको थियो।सामाजिक क्षेत्रमा पनि दवाडी सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए । उनको अध्यक्षतामा स्थापना आमा प्रतिष्ठान नेपालमार्फत स्थानीय महिलालाई स्वरोजगार तथा सीपमूलक तालिम, विपन्न छात्रालाई निःशुल्क शिक्षा, र वृद्धवृद्धाका लागि आमा भवन निर्माणजस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन हुँदै आएका थिए।
प्रकाशित मिति २०८२ मंसिर २ गते सोमबार ११:१९




