काठमाडौं ।
अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन् ।
परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताए ।
अन्तरिम सरकारलाई निर्वाचन गराउने म्याण्डेट रहेकाले करका दरहरु हेरफेरमा आफू नलागेको पनि उनले स्पष्ट पारे ।
सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानूनसम्मत तरिकाले आफूहरु अघि बढिरहेको उनले जिकिर गरे ।
अर्थमन्त्री खनालले भने, ‘सकेसम्म संयमित रहेर काम गर्नुपर्ने, आलोचनाबाट बच्नु पनि पर्ने, कानूनसम्मत पनि हुनुपर्ने समयमा अहिले करका दर चलाउँदा यहाँहरुले पनि हेरिरहनुभएको छ, कुनै एउटा खास पक्षलाई पक्षपोषण गर्न थालियो भनेर फेरि अर्को व्यवसायिक तप्काबाट आवाज उठ्छ । सरकारको ध्यान निर्वाचन गराउनेमा छ । सरकारको ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा छ । त्यसैमा अवरोध आउने खालले विरोध हुन थाल्यो भने राम्रो हुँदैन भनेर करका दरमा ध्यान दिएको छैन । यो निर्वाचित सरकारले गरोस् भनेर ध्यान पु¥याउन पनि चाहेको छैन ।’
अर्थमन्त्री खनालले करका दर अहिले हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने बताए ।
प्रकाशित मिति २०८२ मंसिर ४ गते बुधबार १२:४४




