पोखरा ।
आउँदो माघमा हुने छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा माल्दिभ्सको राष्ट्रिय टोलीले सहभागिता जनाउने भएको छ ।
पोखरामा शनिबार भएको टाइगर ग्रुप अफ पोखरा नेपालको चौथो वार्षिक साधारण सभामा अध्यक्ष नारायणप्रसाद शर्माले च्याम्पियनसिपमा माल्दिभ्सको पुरुष राष्ट्रिय टोलीले सहभागिता जनाउने जानकारी गराएका हुन् । छैटौं टाइगर कप भलिबल आउँदो माघ ९ देखि १७ गतेसम्म हुँदैछ ।
अध्यक्ष शर्माले टाइगर कपमा माल्दिभ्सको राष्ट्रिय टोलीको खेल्न आउँदा च्याम्पियनसिपको गरिमा र साख माथि उठेको उल्लेख गरे ।
यसपटक टाइगर कपको विजेताको पुरस्कार रकम पनि वृद्धि गरिएको शर्माले जानकारी दिए ।
महिला तथा पुरुषतर्फ विजेता हुने टोलीलाई जनही ६ लाख ६६ हजार ६ सय ६६ रुपैया पाउनेछन् । यसअघि ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउँदै आएका थिए । उपविजेतालाई भने ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोलीलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई २६ हजार ६ सय ६६ र विधागततर्फ उत्कृष्ट हुनेलाई ११ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ । टाइगर ग्रुप अफ पोखराले खेलकुदसँगै सामाजिक क्षेत्रमा पनि निरन्तर योगदान दिँदै आएको अध्यक्ष शर्माले जानकारी दिए ।
प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:५६




