म्याग्दी ।
बेनीमा रहेको प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव भएपछि प्रसूति तथा सर्जरी सेवा ठप्प भएका छन्।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ नभएकाले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द छ भने सर्जन नहुँदा सामान्य सर्जरी, एपेन्डिसाइटिस, हाइड्रोसिल, हर्निया लगायतका उपचारसमेत रोकिएका छन्।
५० सैयाको यो अस्पतालमा सामान्य सर्जरीका बिरामीसमेत बागलुङ र पोखरा जान बाध्य छन्। विशेषज्ञ अभावका कारण जटिलता आउन सक्ने भन्दै अस्पतालले डेलिभरीका केसहरू बाहिरै रिफर गर्दै आएको बिरामीहरूको गुनासो छ। अस्पतालभित्र सामान्य शल्यक्रिया नहुँदा धेरैले महँगो शुल्क तिरेर निजी अस्पताल धाउनुपरेको छ।
अस्पतालका निमित्त प्रमुख डा. रामु सापकोटाका अनुसार कन्सल्टेन्ट सर्जन, पेडियाट्रिसियन, रेडियोलोजिस्ट, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया र फार्मेसी सहायक सहितका पदपूर्तिका लागि सूचना जारी गरिएको छ।
हाल अन्तरङ्ग–बहिरङ्ग सेवा, हाडजोर्नी, दन्त, आँखा, बालरोग कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र र डायलासिस सेवा भने नियमित सञ्चालनमा छन्।
विशेषज्ञ नहुँदा बेनी अस्पताल प्रसूति तथा सर्जरीका अधिकांश केस रिफर गर्ने केन्द्र सरह बनेको छ।
निक साइमन्स इन्स्टिच्युटको सहयोगमा एक दशकअघि सुरु भएको शल्यक्रियासहितको प्रसूति सेवाबाट म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङका बिरामी लाभान्वित हुँदै आएका थिए। तर दरबन्दीअनुसार चिकित्सक व्यवस्थापन हुन नसक्दा अत्यावश्यक सेवा नै ठप्प हुँदा सरोकारवाला समेत मौन बसेको गुनासो बढ्दो छ।
बर्षेनी ६० हजारभन्दा बढी सेवा लिने बेनी अस्पताल अहिले जनशक्ति अभावका कारण प्रभावित बनेको छ।
प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०२:४०




