२०८३ असोज २३ गते शुक्रबार

विकट निसेलढोर जोड्ने सडक स्तरोन्नति गरिँदै

विकट निसेलढोर जोड्ने सडक स्तरोन्नति गरिँदै

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ मंसिर १५ गते आइतबार ०५:१३

आर्थिक वर्ष २०७६÷०७७ सालमा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडीनै गुड्न नसक्ने हुँदा यस वर्ष स्तरोन्नति गर्न थालिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए ।

बागलुङ ।

बागलुङको निसेलढोर जोड्न सडक स्तरोन्नति गरिने भएको छ ।

जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोर पाँच वर्ष अगाडि मोटरबाटोले जोडिए पनि साँघुरो र अप्ठ्यारो हुँदा बाह्रै महिना संचालन हुन सकेको थिएन ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७२ लाख लगानीमा उक्त सडक स्तरोन्नति गर्न थालिएको हो ।

आर्थिक वर्ष २०७६÷०७७ सालमा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडीनै गुड्न नसक्ने हुँदा यस वर्ष स्तरोन्नति गर्न थालिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए ।

सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरि निर्माण कम्पनीसँग सम्झौता भइसकेको उनको भनाइ छ ।

करिब पाँच किलोमिटर सडक निर्माणका लागि एम.एस टीएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सले जिम्मा पाएको भन्दै अब केही दिनमै काम सुरु गर्ने सूचना अधिकारी बाँठा बताउँछन् ।

गत कात्तिक १२ गते निर्माण कम्पनीसँग सम्झौता भइसकेको उनको भनाइ छ । अगामी वैशाख मसन्तसम्म काम गरि सक्नु पर्ने बाँठाले बताए ।

यसपाली सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङ गरिने उनको भनाइ छ ।

निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै संभावन बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्ट मात्रै पुग्ने गरेका छन् ।

बर्खामा यातायात संचालन नहुँदा हिउँदै खाद्यान्न जोहो गरेर राख्नु पर्ने अवस्था रहेको स्थानीय पदमबहादुर घर्तीले बताए ।

एक दशक अगाडिसम्म यहाँ बर्खाको समयमा मात्रै निसीबाट वस्तुभाउ लिएर बस्ने स्थानीय अहिले बाह्रै महिना निसेलढोरमा बस्न थालेको उनको भनाइ छ ।

अहिले बर्खामा अहिले बर्खामा ३०० र हिउँदमा झण्डै १५० घर परिवार निसेलढोरमा बसोबास गर्ने घर्तीले सुनाए ।

निसेलढोरमा आलु, स्याउ र सिमी लगायतका कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुने गरेको स्थानीय देवीराम पुनले बताए ।

गाउँमा सडक आएपछि हिउँदमा मान्छेले र घोडाले बोकेरै सामान ढुवानी गर्नु पर्ने बाध्याता कम भएको भन्दै चार किलोमिटर सडक व्यवस्थित बनाउन सके बाह्रै महिना निसेलढोरमा गाडी चल्न सक्ने उनी बताउँछन् ।

असारदेखि कात्तिकसम्म सडक नचल्दा यहाँ उत्पादन भएको वस्तुसमेत कुहिने जोखिम रहेको पुनको भनाइ छ ।

प्रकाशित मिति २०८२ मंसिर १५ गते आइतबार ०५:१३
हजुरको प्रतिक्रिया