काठमाडौं ।
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले अफ’मा पुग्न सफल भएको छ । आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले ‘प्ले अफ’मा स्थान बनाएको हो ।
जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३४, डी आर्स सर्ट ३० र जेजे स्मिथले २१ रन बनाए ।
जनकपुरका सङ्गीत कुरेले ३, मायान यादवले समान २ र सञ्जय कृष्णमूर्तिले १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनायो ।
जनकपुरका सङ्गीत कुरेले ४५, मयन यादवले २७ रन बनाए । दुवै खेलाडी नटआउट रहे । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २ विकेट लिए । लुम्बिनीले ७ मध्ये ४ खेल जितेर ८ अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
जनकपुर ६ मध्ये मात्र १ खेल जितेर २ अङ्कसहित तालिकाको पुछार रहँदै ‘प्ले अफ’ समीकरणबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्दैछ । यस्तै लुम्बिनीको जीतसँगै पोखरा एभेञ्जर्स र चितवन राइनोज पनि ‘प्ले अफ’ समीकरणबाट बाहिरिएका छन् ।
यसअघि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा पुगेका छन् । कर्णाली याक्स पनि प्लेअफ होडबाट बाहिरिइसकेको छ ।
गएको मङ्सिर १ गतेदेखि चलेको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति २०८२ मंसिर २० गते शुक्रबार ०७:४८




