काठमाडौँ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधि आज तय हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सिधै फाइनल यात्रा तय गरेको हो। यस्तै, दोस्रो क्वालिफायरमा लुम्बिनीले पनि विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित ग¥यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।
दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम यस संस्करणको बलियो दाबेदार मानिएको छ। गत वर्षको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने दृढ लक्ष्यसहित मैदानमा उत्रिँदैछ।
उता, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको टोली हो। तर यस सिजन उत्कृष्ट पुनरागमन गर्दै फाइनलसम्मको यात्रा तय गरेको लुम्बिनी पहिलो पटक एनपीएलको उपाधि हात पार्ने दाउमा छ। लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा भने सुदूरपश्चिमले ७ विकेटको जित दर्ता गरेको थियो।
प्रतियोगिताको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ लाख रुपैयाँ हात पार्नेछ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका आठ टोली सहभागी रहेका थिए।




