पोखरा ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले ठूला कर्पोरेट हाउसहरुले श्रम शोषण गर्ने गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरुले श्रमिकहरुलाई अधिकार दिन नमान्ने गरेको आरोप लगाएका हुन् ।
उनले श्रमिकलाई अधिकार दिनुपर्ने भएकोले कम्पनीहरुले पछिल्लो समय अस्थायी श्रमिकलाई ल्याएर काम गर्ने प्रचलन बढेको बताए ।
स्थायी श्रमिकहरु निकालेर अस्थायी श्रमिक भर्ती गर्ने प्रचलनले श्रमिकहरु मारमा परेको उनको भनाई छ ।
स्थायी श्रमिकलाई न्युनतम पारिश्रमीक दिनुपर्ने, प्रत्येक दुई वर्षमा तलववृद्धि गर्नुपर्ने, सामाजिक सुरक्षा लागू गर्नुपर्ने कारणले ठूला भनिएका होटलहरु नै यसबाट पन्छिन खोज्ने गरेको उनको दाबी छ ।
उनले होटलहरुमा श्रमिकले पाउने १० प्रतिशत सर्भिस चार्ज पनि नपाउने गरेको बताए ।
उनले भने, ‘अहिले ठूला ठूला कर्पोरेट हाउसहरुका वर्नरहरुले सञ्चालन गरेका, कतिपय मल्टीनेशनल कम्पनीहरुले सञ्चालन गरेका होटलहरु आज श्रमिकलाई अधिकार दिनबाट उहाँहरु भाग्न खोज्नुहुन्छ । आज एउटा श्रमिकलाई स्थायी भइसकेपछि उसले सामाजिक सुरक्षाको कुराकानी गर्छ, उसले तलव न्युनतम बेतनको कुरा गर्छ, उसले त्यो सँगै श्रम ऐनले दिएको प्रत्येक दुई वर्षमा सामुहिक सौदाबाजी गर्ने उसले आफ्नो अधिकार प्रयोग गर्न खोज्छ, त्यसकारणले यो उसको अधिकारलाई दिनु हुँदैन भनेर आज आउटसोर्स कम्पनीमार्फत श्रमिकहरुलाई ल्याएर काममा लाउने, स्थायी प्रकृतिका श्रमिकहरुलाई चाहीँ निष्कासन गर्ने जस्तो स्थिति आज बनेको छ ।’
उनले श्रमिकहरुले श्रमदाताको लगानी र सुरक्षाको चिन्ता गर्ने भएपनि रोजगारदाताहरुले श्रमिकलाई सधैँ बेवास्ता गर्ने गरेको बताए ।
प्रकाशित मिति २०८२ पुस १ गते मंगलबार ०३:१८




