पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली संकलन गरिसकेको छ ।
पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले अनलाईन आवेदन दिएका छन् ।
गण्डकी प्रदेश समानुपातिक उम्मेदवारको लागि ४३ जनाले आवेदन दिएको रास्वपा गण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
रास्वपा गण्डकीका संयोजक राजन गौतमका अनुसार संविधानको व्यवस्था अनुसार ६ वटा कलस्टरमा गरि ४३ जनाले आवेदन दिएका छन् । रास्वपाले समानुपातिक उम्मेदवारको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो ।
आवेदन दिनेहरुको सूची आज प्रकाशित गरिएको छ । उनीहरुले प्राइमरी इलेक्सनमा भाग लिन पाउनेछन् । आवेदन दिएका मध्यबाट बढि अंक ल्याउने १३ जनाको नाम गण्डकीबाट अन्तिम बन्दसूचिमा समावेस हुने छ । जसमध्य आदिवासी जनताजी ५ जना, खसआर्य ५ जना, दलित २ जना, मधेसी १ जना समानुपातिक सूचिमा पर्ने गौतमले बताए । १३ जनामध्य ७ जना महिलाको सहभागिता सुनिश्चित हुनेछ ।
पुस ६ र ७ गते प्रदेशका विभिन्न जिल्लामा घरदैलो कार्यक्रममा सहभागि गरिने संयोजक गौतमले जानकारी दिए । आवेदन दिएकाहरुसंग प्रदेश समितिले शनिबार पोखरामा छलफल समेत गरेको छ ।
पार्टी केन्द्रले १४ गते समानुपातिक तर्फका १ सय १० जनाको नामसहित बन्द सूची तयार गर्ने छ ।
प्रकाशित मिति २०८२ पुस ५ गते शनिबार ०३:२४




