२०८३ साउन २१ गते बिहीबार

भारतको इस्ट बंगालले चुम्यो पहिलो पटक आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधि

भारतको इस्ट बंगालले चुम्यो पहिलो पटक आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ५ गते शनिबार ०७:४०

नेपालको एपीएप ३–० मा स्तब्ध

काठमाडौं ।

पहिलो पटक आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ । कप्तान फजिला इक्वापुटको दुई गोल मद्तमा नेपालको एपीएफलाई ३–० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो ।

त्रिपेश्वरस्थित दशरथ रंगशालामा ८ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरेलु टोली एपीएफले फाइनलमा इस्ट बंगालसामु खासै अवसर बनाउन सकेन । इस्ट बंगालका लागि कप्तान फजिला इक्वापुटले दुई तथा सिल्की देवी हेनानले एक गोल गरिन् ।

कप्तान फजिला इकापुटले २२औं मिनेटमा गोल गरेकी थिइन् । इस्ट बंगालकी सरिता युमनानको प्रहार मनमाया दमाईँले हेड मार्फत क्लियर गर्न खोजेपनि सफल नभएपछि फजिलाले बल पाइन् । उनले हानेको प्रहार गीता रानालाई लाग्दै गोल भएको हो ।

३५औं मिनेटमा असलतादेवीको क्रसमा सिल्की देवी हेनानले पेनाल्टी बक्स भित्रबाट हेड मार्फत गोल गर्दै अग्रता दोब्बर पारिन् । दोस्रो हाफ सुरु भएलगत्तै फजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै इस्ट बंगाललाई ३–० ले अगाडि राखिन् ।

फजिलाले पेनाल्टी बक्सको बाहिरबाट गीता रानालाई छलाउँदै हानेको प्रहार गोल भएको हो । एपीएफकी गोलकिपर अन्जना राना मगरको गल्तीमा गोल भएको थियो । त्यसपछि कुनै गोल भएनन् र इस्ट बंगाल च्याम्पियन बन्यो ।

च्याम्पियन इस्ट बंगालले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्दा उपविजेता एपीएफले ५ हजार डलर पाएको छ । उपाधि जित्ने क्रममा इस्ट बंगाल अपराजित रह्यो । कुनै गोल समेत कन्सिड गरेन । फाइनलअघि दुवै टोली अपराजित थिए ।

तर फाइनलमा इस्ट बंगालले आफू बलियो भएको प्रमाणित गर्यो ।

प्रकाशित मिति २०८२ पुस ५ गते शनिबार ०७:४०
हजुरको प्रतिक्रिया