पोखरा ।
सुदूरपश्चिममा रहेको दुर्गम अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ ।
‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले शाहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ ।
स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनावद्ध विकासमा जोड दिएपछि आर्थिक समृद्धिको अन्य कुनै आधार नभएको यस गाउँपालिकाले अपी हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएको थियो ।
योजनावद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवद्र्धनका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो ।
अपी गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताए ।
अध्यक्ष बोहराकाअनुसार नेपाल पर्यटन बोर्ड र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा गाउँपालिकाले अहिले पर्यटन व्यवसायीलाई विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ ।
त्यसैगरी पुर्वाधार विस्तारमा पनि काम भइरहेको उनले जानकारी दिए ।
उनले भने ‘अपी हिमाल गाउँपालिका नेपालकै सुदूरपश्चिममा रहेको दुर्गम गाउँपालिका हो । यो गाउँपालिकामा पर्यटन बाहेक आर्थिक समृद्धिको कुनै आधार छैन । त्यसैले हामीले गाउँपालिकामा निर्वाचित भइसकेपछि अपी हिमाललाई सुन्दर, समृद्ध र विकसित अपी हिमाल बनाउन केही योजनावद्ध विकास गर्नुपर्छ भन्ने उद्देश्यले काम अगाडि बढायौँ र त्यो आवधिक योजनामामा समावेश ग¥यौं । अपी हिमालको बेसक्याम्पसम्म पुग्न पर्यटकीय पूर्वाधारहरुमा लगानी ग¥यौं । टुरिजम बोर्ड, प्रदेश सरकार र स्थानीय सरकार मिलेर बेसक्याम्पसम्मको ट्रेकिङ ट्रेलहरु बनाएका छौँ । ती ट्रेलमा टि–हाउस, गेस्ट हाउस र होमस्टे बनाएका छौँ । ट्रेकिङ गाइड तालिम पनि दिएका छौँ । पछिल्लो समय अपी हिमाल गाउँपालिकाको नाम सुनिने भएको छ । अहिले देश विदेशका सबै पर्यटकहरु,जो ट्रयाकिङमा रुचि राख्नुहुन्छ र उहाँहरुको रुचीको विषय अपि बनेको छ ।’
गत आर्थिक वर्षमा मात्रै करिव ५ हजार आन्तरिक तथा वाह्य पर्यटकले अपी हिमाल र बेसक्याम्पको भ्रमण गरेका छन् । पर्यटकको चहलपहल बढेपछि स्थानीय स्तरमा झन्डै ४ देखि ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।
यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । विशेषगरी स्थानीय रैथाने उत्पादनको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन् ।
विभिन्न स्थानमा टी–हाउस, गेस्ट हाउस र ९ वटा होमस्टेको व्यवस्था गरिएको छ । स्थानीयलाई ट्रेकिङ गाइड, बेकरी र कफी बनाउने तालिम प्रदान गरिएको छ ।
यही सक्रियताका कारण नेपाल सरकारले छोटो समयमा पर्यटन विकासमा योगदान पु¥याएको भन्दै अपी हिमाल गाउँपालिकालाई सम्मान समेत गरिसकेको छ ।
पर्यटकको संख्या बढेसँगै स्थानीयको आम्दानीमा वृद्धि भएको छ । पर्यटन विस्तारसँगै होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी, सवारी चालक र स्थानीय किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
रैथाने उत्पादन र परिकारको माग बढेसँगै स्थानीय कृषि उत्पादन समेत बजारमा पुग्न थालेको छ । पर्यटन अहिले स्थानीयका लागि जीविकोपार्जनको प्रमुख आधार बन्दै गएको अध्यक्ष बोहराले बताए ।
उनले भने ‘हाम्रो उद्देश्य भनेको पर्यटन व्यवसायको दिगोपना र व्यवस्थापनमा नै छ अहिले । पछिल्लो समय टुरिजम बोर्ड अन्तर्गत युएनडिपिको एसटिए प्रोजेक्ट अन्तर्गत खास गरी टे«ेकिङ दिगोपना रव्यवस्थापनलाई बढी फोकस गरेका छौँ । हाम्रो उदेश्य भनेको अब त्यो ट्रेकलाई कसरी विकसित गर्न सकिन्छ ? कसरी गुणस्तरीय बनाउन सकिन्छ र कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मै जोड छ । हामीले टि हाउस सञ्चालक, होम स्टे संचालक, होटल व्यवसायी, ट्रेकिङ गाईड तथा पोटर गाईडलाई तालिम दिइरहेका छौ । रैथाने उत्पादनका परिकारहरु पर्यटकले पनि खाइराख्नुभएको छ । हाम्रा सबै गतिविधिहरुको उदेश्य नै स्थानीयको जीविकोपार्जनलाई सपोर्ट गर्ने हो । त्यो अहिले भईरहेको छ । पर्यटक बढेपछि मान्छेहरुको जिविकोपार्जनको आधार पनि पर्यटन बनेको छ । त्यसैले हामी अब पर्यटकहरु भित्र्याउनुपर्छ भन्ने उद्देश्यले पर्यटकमैत्री भौतिक संरचना निर्माणमा पनि लागेका छौँ ।’
प्राकृतिक मनोरम दृश्यले भरिएकाले गाउँपालिकाले पर्यटन आकर्षित गर्न ट्रेकिङ ट्रेल मर्मत, सेवाको गुणस्तर सुधार, होमस्टे तथा टी–हाउस सञ्चालकलाई तालिम, साइनेज र नक्शा निर्माण लगायत कार्यलाई प्राथमिकतामा राखेको छ ।
अपी–सैपाल बेसक्याम्प जोड्ने ट्रेकिङ रुटलाई ग्रेट हिमालयन ट्रेलको पश्चिमी खण्डका रूपमा विकास गर्ने तयारी पनि गाउँपालिकाले गरेको छ ।
काठमाडौं–धनगढी–मकरिगाड हुँदै दुई दिनमै अपी हिमाल गाउँपालिका पुग्न सकिन्छ भने दुई दिनको पदयात्रापछि बेसक्याम्प पुगिन्छ ।
बेसक्याम्प क्षेत्रबाट अपी, नाम्पासहित १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ ।
सामान्यतया काठमाडौंबाट ८ दिनको यात्रा तय गर्दा अपी बेसक्याम्प घुमेर फर्किन सकिन्छ ।
प्रकाशित मिति २०८२ पुस ६ गते आइतबार १२:२३




