२०८३ साउन २१ गते बिहीबार

पोखरामा बुधबारदेखि १६औं राष्ट्रपति रनिङ शिल्ड हुँदै

पोखरामा बुधबारदेखि १६औं राष्ट्रपति रनिङ शिल्ड हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ७ गते सोमबार ०८:१६

४०४ पदकका लागि ३३१२ खेलाडीले प्रतिष्पर्धा गर्ने

पोखरा ।

पोखरामा पुस ९ गतेदेखि १६औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा ६ खेलका ४०४ पदकमा प्रतिष्पर्धा हुनेछ ।

उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्समा ३ हजार ३१२ खेलाडीले प्रतिष्पर्धा गर्ने समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । पुस ११ सम्म चल्ने प्रतियोगितामा पोखरा महानगरभित्रका ४५ विद्यालयले सहभागिता जनाउने अध्यक्ष गोदारले बताए ।

सबै खेलमा छात्र छात्राको छुटाछुट्टै प्रतिष्पर्धा हुनेछ । भलिबलमा ६८०, कवड्डीमा ३१०, एथलेटिक्समा ६३५, करातेमा १३४, तेक्वान्दोमा ९८, उसुमा १०५ र मार्चपासमा १३५० खेलाडी सहभागी हुनेछन् ।

भलिबल र कबड्डीको छात्रछात्रा दुवैतर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० र तेस्रो हुनेले १२ हजारसहित मेडल र प्रमाण पत्र पाउनेछन् । एथलेटिक्सतर्फ एकलतर्फ पहिलो हुनेलाई ४ हजार, दोस्रो हुनेलाई २५ सय र तेस्रो हुनेलाई १५ सय प्रदान गरिनेछ ।

एथलेटिक्सको टिम खेलमा पहिलो हुने टोलीले ६ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले २ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मार्चपासतर्फ पहिलो हुने टोलीले २० हजार, दोस्रो हुने टोलीले १५ हजार, तेस्रो हुने टोलीले १० हजार र चौथो हुने टोलीले ५ हजार पाउनेछन् ।

ग्रासरुटदेखि नै खेलकुद विकास गर्न र खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताले सहयोग पु¥याउने अध्यक्ष गोदारको विश्वास छ ।

प्रकाशित मिति २०८२ पुस ७ गते सोमबार ०८:१६
हजुरको प्रतिक्रिया