२०८३ कात्तिक १० गते सोमबार

हिमालको काखमा सुनौलो बिहान : राइनासकोटमा बढ्दै पर्यटक

हिमालको काखमा सुनौलो बिहान : राइनासकोटमा बढ्दै पर्यटक

विराट न्यौपाने 

@Public 4K Tv

२०८२ पुस ९ गते बुधबार ०३:१७

लमजुङ । पूर्वी लमजुङको राइनास नगरपालिका–९ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । बिहानको सुर्योदय र हिमालको लहर जस्ता सुन्दर प्राकृतिक दृश्यले...

लमजुङ ।

पूर्वी लमजुङको राइनास नगरपालिका–९ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

बिहानको सुर्योदय र हिमालको लहर जस्ता सुन्दर प्राकृतिक दृश्यले राईनासकोटमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ। हलुका कुहिरो चिर्दै उदाउने घामसँगै अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ र माछापुच्छ्रे हिमशृङ्खला क्रमशः प्रष्ट हुँदै जाँदा पर्यटक मन्त्रमुग्ध हुने गर्छन् ।

राइनासकोटबाट हिमाल मात्र होइन, गोरखाको बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट र गोरखाबजारदेखि तनहुँको आँबुखैरनी, बन्दीपुर र दमौलीसम्मका बस्तीहरू सजिलै देख्न सकिन्छ । लमजुङको बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार र दुराडाँडासमेत आँखै अगाडि देखिने भएकाले यो डाँडा प्राकृतिक भ्यू–टावरकै रूपमा चिनिन थालेको छ । राईनासकोटबाट १८ जिल्लाको भूभाग देख्न सकिने स्थानीय बताउँछन् ।

बाइसे–चौबिसे राजाको पालामा निर्माण भएको राइनासकोट किल्ला, कालिका, कोटेश्वर महादेव र थानीमाई मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक स्थलले राईनासकोटलाई ऐतिहासिक अध्ययनको थलोको रुपमा समेत स्थापित गरेको छ।

समुद्री सतहबाट १ हजार ७७४ मिटर उचाइमा रहेको राइनासकोटबाट सूर्योदय र सूर्यास्तका दुवै दृश्य मनमोहक देखिन्छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनःनिर्माण भएसँगै यहाँ सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । परम्परागत घुमाउने घर, गुरुङ समुदायको मौलिक संस्कृति र आत्मीय पाहुना सत्कारले राइनासकोटलाई छुट्टै पहिचान दिएको छ । हाल १७ घरमा होमस्टे सञ्चालनमा छन् जहाँ एकै रातमा करिब एक सय जनासम्म पाहुना बास बस्न सक्ने व्यवस्था छ । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष बालसिंह गुरुङका अनुसार सप्ताहन्तमा पर्यटकको चाप बढी हुने गरेको छ । शुक्रबार र शनिबार ५० देखि एक सय जनासम्म पाहुना आउने गरेका छन् । होमस्टेमा आएका पाहुनालाई स्थानीय अर्गानिक खाना तथा खाजा खुवाईने अध्यक्ष गुरुङ्ले बताए ।

राइनास नगरपालिकाले राइनासकोटको पर्यटनलाई अझ व्यवस्थित र दिगो बनाउँदै लैजाने योजना अघि सारेको छ । नगर प्रमुख खड्गबहादुर गुरुङका अनुसार होमस्टेलाई थप व्यवस्थित बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र सेवा स्तर सुधार्ने काम भइरहेको छ । केन्द्र र प्रदेश सरकारको सहयोगमा पार्क निर्माण, मन्दिर पुनःनिर्माण, पुरातात्विक सम्पदाको संरक्षण र सडक सुधारका काम पनि अगाडि बढिरहेका छन् ।

प्याराग्लाइडिङ, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र मनमोहक दृश्यका कारण राइनासकोट पछिल्लो समय काठमाडौँ, पोखरा र चितवनलगायत सहरका पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौँबाट करिब १५५ किलोमिटर टाढा रहेको यो गन्तव्य लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट करिब डेढ घण्टाको यात्रामा पुग्न सकिन्छ ।

 

प्रकाशित मिति २०८२ पुस ९ गते बुधबार ०३:१७
हजुरको प्रतिक्रिया