पोखरा ।
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले यतिबेला गति लिएको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ ।
आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार निर्माण कम्पनीलाई थप गरिएको म्याद अब ६ महिनामात्र (जुन ३१)सम्म बाँकी रहेको छ ।
भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार भूमिगत कार्यको ठेक्का लिएको हो । पोखरामा मात्रै करिब १ अर्ब ७० करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।
हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि पृथ्वीचोकस्थित सेती पुलसम्म तार बिछ्याएर घर–घरमा विद्युत् वितरण सुरु भइसकेको इञ्जिनियर सुवेदीले जानकारी दिए ।


यसैगरी अहिले सिर्जनाचोकदेखि सभागृह, जिरो किलोमिटर क्षेत्र तथा लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम तीव्र रूपमा भइरहेको छ ।

आयोजनाअन्तर्गत विमानस्थल प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किलोमिटरसम्मको मुख्य राजमार्ग, साथै सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोडलगायत क्षेत्रका मुख्य तथा सहायक सडकहरूमा पनि तार भूमिगत गरिने आयोजना कार्यालयले जनाएको छ ।


विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ ।
विद्युत् तार जमिनमुनि बिछ्याइएपछि अव्यवस्थित तार र पोलबाट पोखराले मुक्ति पाउने, सहरी सौन्दर्य बढ्ने तथा विद्युत् आपूर्ति अझै सुरक्षित र भरपर्दो हुने विश्वास लिइएको छ ।

भूमिगत प्रणाली बढी क्षमतायुक्त हुने भएकाले ग्राहकको बढ्दो माग र विद्युत् चाप व्यवस्थापन गर्न समेत सहयोग पुग्ने नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।
प्रकाशित मिति २०८२ पुस १८ गते शुक्रबार ०२:५२




