२०८३ साउन २१ गते बिहीबार

बाँसबाट आर्कषक साम्रागी, बजार पाएमा उत्पादनलाई नियमित गर्न सकिने

बाँसबाट आर्कषक साम्रागी, बजार पाएमा उत्पादनलाई नियमित गर्न सकिने

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ पुस २५ गते शुक्रबार ०१:४५

म्याग्दी । बेनी नगरपालिका–७, महरानीथानस्थित दोभान कृषि सहकारी संस्थाले बाँसजन्य सामाग्री बनाउने सिपमूलक तालिम सञ्चालन गरेको छ। गाउँघरमा खेर गइरहेको बाँसको सदुपयोग गर्दै सजावट तथा घरायसी सामग्री उत्पादनमार्फत आयआर्जन गर्ने...

म्याग्दी ।

बेनी नगरपालिका–७, महरानीथानस्थित दोभान कृषि सहकारी संस्थाले बाँसजन्य सामाग्री बनाउने सिपमूलक तालिम सञ्चालन गरेको छ। गाउँघरमा खेर गइरहेको बाँसको सदुपयोग गर्दै सजावट तथा घरायसी सामग्री उत्पादनमार्फत आयआर्जन गर्ने उद्देश्यले ४५ दिने तालिम सञ्चालन गरिएको हो । तालिममा धनकुटाका गोपाल तामाङले प्रशिक्षण दिएका थिए ।

तालिमका क्रममा बाँसबाट सोफासेट, टि–टेबल, स्टुल, फुलदानी, प्रमाणपत्र राख्ने फ्रेम, कलम तथा ब्रसदानीलगायत घरायसी प्रयोगका साथै विदेशसम्म निर्यात गर्न सकिने आकर्षक सामग्रीहरू तयार गरिएको थियो।

तालिमको समापन कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले सीप अनुसार उत्पादन र त्यसको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । हालसम्म नगरभित्र सञ्चालन भएका सिपमूलक तालिमबाट प्राप्त उपलब्धि र केही क्षेत्रमा देखिएको सुस्तताको उदाहरण दिँदै उनले उत्पादनको बजारीकरण भए मात्र उद्यमशीलतामा थप प्रोत्साहन हुने बताए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले माघे सङ्क्रान्ति मेलासहित विभिन्न कार्यक्रममार्फत उद्यमीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरण गरिने बताए ।

समापन कार्यक्रममा बेनी नगरपालिका वडा नं. ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं. ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतको उपस्थिति रहेको थियो।

तालिमका सहभागीहरूले उत्पादन गर्न सकिए पनि बजारको समस्या हुँदा निरन्तरता दिन कठिन हुने जोखिम हटाउन आवश्यक रहेकोमा जोड दिएका थिए।

तालिममार्फत उत्पादन भएका सामग्रीको बजारीकरण र उत्पादनमा महिलालाई प्रोत्साहन गरिने दोभान कृषि सहकारी संस्थाकी अध्यक्ष अमृतादेवी बानियाँले बताईन् ।

 

 

प्रकाशित मिति २०८२ पुस २५ गते शुक्रबार ०१:४५
हजुरको प्रतिक्रिया