म्याग्दी ।
आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प्रतिवद्धता जनाएका हुन् ।
म्याग्दीका राजनीतिक दलले देशभरबाट भागेका कैदीबन्दी, लुटिएका हतियारलाई चुनौतिको रुपमा लिएका छन् । त्यसैगरी चुनावी अभियानमा वितरण हुने आर्थिक तथा अन्य निर्वाचन आचारसंहिता विपरितका कार्यहरुलाई समेत कडाई गर्न अनुरोध गरेका छन् ।
संविधानसभा सदस्य गोविन्द पौडेलले सबै राजनैतिक दलका प्रतिनिधिलाई चुनावी सवाल जवाफको समयमा अनिवार्य रुपमै सहभागी बनाउने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले निर्वाचन खर्चिलो हुने गरेको भन्र्दै यसबाट निर्वाचनलाई मुक्त गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसका उपसभापति हरिकुमार श्रेष्ठले निर्वाचन सम्पन्न हुन सकोस भन्ने चाहना दलहरु सबैको रहेको बताए । निर्वाचन भयरहित तबरले सम्पन्न हुँदै आइ रहेको र यस पटक पनि त्यस्तै हुने अपेक्ष गरिएको र त्यो बातावरण बनाउन आफ्नो पार्टी तयार रहेको बताए ।
राप्रपा उपाध्यक्ष सञ्जु बरुवालले कुनै पनि दलबहाट निर्वाचनको उम्मेदवारका लागि टिकट आइसक्दा पनि आर्थिक कारणले गर्दा चुनावमै जान नसक्ने अवस्था सम्म सृजना हुने गरेको बताइन् । चुनाव लड्नका लागि उम्मेदवारले गर्नुपर्ने खर्चलाई बिकास खर्चमा लगाउने खालको वातावरण बनेमा राम्रो हुने बताइन् ।
नेकपा माओवादीका नेता गोपाल पौडेलले मतदातालाई कोशेली दिएर मतलाई तलमाथी गर्नेहरुबाट जोगिनुपर्ने बताए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिका प्रमुख सुरत केसी लगायतको सहभागिता रहेको थियो ।
सर्वदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस बिपि, राष्ट्रिय जनमोर्चा लगायतका राजनैतिक दलको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ माघ ४ गते शनिबार ०२:३४




