२०८३ साउन २१ गते बिहीबार

आदर्श कप फुटबल प्रतियोगिता माघ ९ गतेदेखि

आदर्श कप फुटबल प्रतियोगिता माघ ९ गतेदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ४ गते शनिबार ०३:११

प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की जिल्ला फुटबल संघ, तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल -मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब पर्वत र होराइजन क्लब स्याङ्जाबिच प्रतिस्पर्धा हुने छ ।

पोखरा ।

२६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता माघ ९ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

आदर्श युवा क्लबको आयोजनामा पोखरा–२९, भण्डारढिक खेल मैदानमा प्रतियोगिता हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

आदर्श कपमा गण्डकी प्रदेशका विभिन्न जिल्ला र विभागीय टोलीसहित ८ टोली सहभागी हुने प्रतियोगिताका संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए ।

प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की जिल्ला फुटबल संघ, तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल -मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब पर्वत र होराइजन क्लब स्याङ्जाबिच प्रतिस्पर्धा हुने छ ।

यस वर्ष पुरस्कार राशीमा वृद्धि गरिएको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले ४ लाख ११ हजार १ सय ११ रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

उपविजेता टोलीले नगद २ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार प्रदान गरिने छ ।

त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने छ ।

प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले ५ हजार रुपियाँ र ट्रफी पाउने छन् भने अनुशासित टोलीलाई पनि ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई फस्ट च्वाइस फुड्स लिमिटेडले मुख्य प्रायोजन गरेको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी र आदर्श क्लबको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति २०८२ माघ ४ गते शनिबार ०३:११
हजुरको प्रतिक्रिया