पोखरा ।
रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व किर्तिमान कायम गरेका छन् ।
६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनमा आरोहण सम्पन्न गरेपछि उनी खुशी साट्न सिधै नेपाल आएका हुन् ।
शिखर माउन्ट भिन्सनमा सफल आरोहण गरेका बुढासँगै उनका गाइड मिङ्मा शेर्पा र अफिसियल फोटो पत्रकार अविरल राई पनि उपस्थित थिए ।
अपांगता भएका नेपाली पर्वतारोही हरि बुढा पूर्वगोरखा सैनिक हुन् । सन् २०१० मा अफगानिस्तानमा लडाइँका क्रममा विष्फोटमा परी दुवै खुट्टा गुमाएका उनी त्यसपछि पनि जीवन र चुनौतीहरू सामना गर्दै अगाडि बढेका छन् ।
बुढाले आफ्नो अभियान सपनाहरूको विजय – ७ शिखर अन्तर्गत विश्वका सबै महादेशका सर्वोच्च शिखर आरोहण गरे । हरि बुढाले सगरमाथा आरोहणपछि आफ्नो लक्ष्य सातै महादेशका शिखर चढ्ने रहेको बताएका थिए ।
यस अभियान अन्तर्गत उनले माउन्ट ब्यांक (२०१९), माउन्ट किलिमाञ्जारो (२०२०), सगरमाथा (२०२३), डेनाली (२०२४), अर्कोका गुवा (२०२५), कासारटेन्स पिरामिड पुनचक जया (२०२५) र अन्ततः माउन्ट भिन्सन ९२०२६० आरोहण गरेका छन् ।
अत्यधिक चिसो, भिरालो पहाड र कठिन आरोहणका चुनौतीहरूको सामना गर्दै, बुढा र उनको टोलीले विशेष उपकरण र प्रोस्थेटिक खुट्टाहरूको प्रयोग गर्दै विश्वका सर्वोच्च शिखरमा पाइला टेकेका थिए ।

उनले यो सफलता अपांगता सचेतना फैलाउने र अन्यलाई आफ्ना सपना पूरा गर्न प्रेरित गर्ने उद्देश्यका लागि हासिल गरिएको बताए ।
बुढाले भने, “यदि हामीसँग सपना छ, आफूलाई समर्पित गर्छौं र कहिल्यै हार मान्दैनौँ भने जीवनका कुनै पनि चुनौती असम्भव छैन । मैले दुवै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गरेको छु, र आज सातै महादेशका शिखर चढेको छु । मेरो उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूमा विश्वास जगाउनु र समाजमा सचेतना फैलाउनु हो ।”
उनले अपांगता भएका व्यक्तिहरूले आफ्नो क्षमताअनुसार सफल र अर्थपूर्ण जीवन बिताउन सक्ने बताए । साथै नेपालको मात्र नभई विश्वभर अपांगताका बारेमा रहेका गलत धारणालाई परिवर्तन गर्न पनि यो अभियान महत्वपूर्ण रहेको उनले बताए ।
प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार १२:०३




