पोखरा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको हो ।
स्रोतका अनुसार कास्की क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधवप्रसाद बास्तोला (मधु) र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यद्यपि, उनीहरूले उम्मेदवारी मनोनयनका लागि आवश्यक पर्ने आधिकारिक पत्र भने बुझिसकेका छैनन् ।
को हुन् उम्मेदवार ?
कास्की–१ बाट टिकट पक्का गरेका तिलक रानाभाट पेसाले वैदेशिक रोजगार व्यवसायी हुन् । उनी पार्टीको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विगतमा शेरबहादुर देउवा पक्षमा रहेका उनी पछिल्लो समय सभापति गगन थापा समूहमा सक्रिय छन् ।
यो क्षेत्रबाट पूर्वजिल्ला सभापति एवं केन्द्रीय सदस्य कृष्ण केसीले पनि टिकटको दाबी गरेका थिए । तर, अघिल्लो संसदीय निर्वाचनमा पार्टीका उम्मेदवार किशोरदत्त बराल र दीपक गुरुङ (माइला) लाई असहयोग गरेको आरोपमा कारबाही भोगेका केसी दौडबाट बाहिरिएका छन् ।
कास्की–२ मा उम्मेदवार बनेका माधवप्रसाद बास्तोला (मधु) कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता हुन् । पोखरा–११ का स्थायी बासिन्दा उनी २०५४ देखि २०५९ सम्म तत्कालीन पोखरा नगरपालिकाको वडाध्यक्ष थिए । यसअघि यो क्षेत्रबाट पराजित भएका केन्द्रीय सदस्य एवं प्रवक्ता देवराज चालिसेले चुनाव लड्न नचाहेपछि बास्तोलाले अवसर पाएका हुन् । यहाँ वीरेन्द्रनारायण बिजुक्छे, ऋषिराम काफ्ले, विजय आचार्य र किरण केसीको पनि चर्चा थियो ।
कास्की–३ बाट टिकट पाएका मनोज गुरुङ सोही क्षेत्रका क्षेत्रीय सभापति एवं नेपाल तरुण दल कास्कीका अध्यक्ष हुन् । उनी संस्थापन (देउवा) पक्षका मानिन्छन् । यहाँ नेता रामचन्द्र त्रिपाठीको नाम पनि चर्चामा थियो । जिल्लाका गुरुङ मतदातालाई रिझाउन र आन्तरिक सन्तुलन मिलाउन उनलाई अघि सारिएको बताइएको छ ।
प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०७:५८




