पाेखरा ।
पोखरा कास्की क्षेत्र नंं.१ मा एक स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्र्टी लगायतका दल र स्वतन्त्रसहित १६ जनाले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
कास्की १ मा शीर्ष राजनीतिक दलका अलावा राजमोबाट रविमोहन ढकाल, उज्यालो नेपाल पार्टीबाट मनिषा द्धा, प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपाबाट कर्ण बहादुर गुरुङ, राप्रपाबाट बाबुराम थापा र श्रम संस्कृति पार्टीका बिलबहादुर तामाङ लामाले उम्मेदवारी दर्ता गरे । यस्तै नेकपा माओवादीका कुमार परियार, आम जनता पार्टीका हर्क बहादुर थापा, नेपाल जनमुक्ति पार्टीका मिन बहादुर दर्जी, नेशनल रिपब्लिक नेपालका यज्ञ बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट श्रीमान थापा र नेपाल मानवतावादी पार्टीका आश बहादुर दमैको पनि उम्मेदवारी परेको हो ।
यो क्षेत्र बेला बेलामा खल्बलिइरहने क्षेत्रका रुपमा पनि परिचित छ । विसं २०६४ यताका निर्वाचनलाई हेर्दा पनि एकपछि अर्काे निर्वाचनमा यहाँको परिणाम कुनै दलका पक्षमा स्थायी देखिएको छैन । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन नेकपा माओवादीका देव गुरुङ विजयी बनेका थिए । दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालको उपनिर्वाचनमा पनि माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित बनेका थिए ।
विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बने । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बनेका थिए । २०७९ को निर्वाचनमा एमालेका मन बहादुर गुरुङले २५ हजार ७ सय ८ मत ल्याएर विजयी बन्दा निकट्तम प्रतिद्धन्द्धी काँग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका थिए । सो बेला किशोरदत्तलाई काँग्रेसकै एउटा तप्काले असहयोग गरेको आरोप लागेको थियो । यता, रास्वपाले प्राप्त गरेको मत १० हजार ९ सय ४१ थियो । सो बेला रास्पवाबाट राजु राईले प्रतिष्पर्धा गरेका थिए । अहिले परिस्थिती बद्लिएको छ ।
मुलकको राजनीति पनि बद्लिएको छ । गठबन्धनले कचपल्टिएको निर्वाचन क्षेत्र दल र उम्मेदवारको आफ्नै सामथ्र्यमा नतिजा निकाल्न कस्सिनुपर्ने स्थितीमा आइपुगेको छ । समग्र परिस्थितीलाई हेर्दा यहाँ मुख्यत ः नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका विच नै प्रमुख प्रतिष्पर्धा हुने देखिन्छ ।
यहाँ काँग्रेसबाट उम्मेदवारी दर्ता गरेका तिलक रानाभाट स्थानीयस्तरमा भिजेका नेताका रुपमा परिचित छन् भने एमालेले अघि सारेका बैन बहादुर अधिकारी क्षेत्री प्रभाव कायम राख्न सक्ने नेताका रुपमा चिनिन्छन । रास्वपाले अघि सारेका खडकराज पौडेल उर्फ गनेस पौडेल रास्वपाले अघिल्लो पटक ल्याएको मतमा पछिल्लो उभार जोडेर विजेता बन्ने दाउमा छन् । यता, नेकपाबाट उम्मेदवारी दर्ता गरेका राजकाजी गुरुङ ‘करण’ राजनीतिका चतुर खेलाडी हुन् । उनी पछिल्लो समय सोहि निर्वाचन क्षेत्रमा क्रियाशिल रहेर मतदातामाझ भिज्ने प्रयत्न गरेको बुझिन्छ ।
प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०६:४१




