पोखरा ।
कास्की क्षेत्र नम्बर ३ बाट १५ जनाले उम्मेदवारी दिएका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उक्त क्षेत्रमा १५ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ सालको निर्वाचनमा उक्त क्षेत्रमा विजयी बनेका नेकपा एमालेका दामोदर पौडेल बैरागीले यसपटक पनि उम्मेदवारी दर्ता गराएका छन् । उनीसहित नेपाली काँग्रेसबाट मनोज गुरुङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट विना गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट अर्जुनप्रसाद खनालले उम्मेदवारी दिएका छन् ।
नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, नेकमा माओवादीबाट कमल खड्का विश्वकर्मा, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनबाट जीवनबहादुर गुरुङको उम्मेदवारी परेको छ ।
यस्तै संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका तिर्थ गुरुङ, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा नेपाल मजदुर किसान पार्टीकी मिना न्हिसुतु र श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले पनि उम्मेदवारी दिएका छन् ।
उक्त क्षेत्रमा १५ जनाको उम्मेदवारी परेपनि मुख्यत शीर्ष चार राजनीतिक दलहरुबिच प्रतिष्पर्धा हुने देखिन्छ । २०७९ को निर्वाचनमा काँग्रेस, माओवादीसहितको गठबन्धनका उम्मेदवारलाई पराजित गरेका दामोदर यसपटक पनि चुनावी मैदानमा छन् । उनले ४ हजार ५ सय बढी मतान्तरले गठबन्धनका रामजीप्रसाद बराललाई हराएका थिए । यसपटक जित निकाल्दै दोस्रोपटक संसद छिर्ने दामोदरको योजना छ ।
खासै अवसर नपाएका मनोजलाई काँग्रेसले टिकट थमाएको छ । ग्रामिण क्षेत्र र जनजातीको भोट तान्दै पासा आफुतर्फ पल्टाउने दाउमा मनोज हुनेछन् ।
नेकपाबाट उम्मेदवार बनेको गोपाल र रास्वपाबाट उम्मेदवार बनेकी विना पनि अरुलाई पन्छाउँदै विजेता बन्ने ध्ययमा छन् । गोपाल एकीकृत समाजवादी कोटाबाट टिकट पाएका हुन् ।
अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवार योगराज पौडेलले १२ हजार १८० मत प्राप्त गरेका थिए । यसअघि भन्दा यसपटक संगठन बलियो भएकाले उक्त क्षेत्रमा रास्वपाको जित सुनिश्चित रहेको विना बनाउँछिन् ।
राप्रपाबाट उम्मेदवार बनेका अर्जुन खनालसहितका उम्मेदवार पनि आफ्नो जित निश्चित रहेको दाबी गर्छन् ।
प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०७:०४




