पोखरा ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
बुधबार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताए । अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने उनले बताए ।
अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘राष्ट्रिय सम्पती, सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’
अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उनको जिकिर छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमबार मात्रै झापा गएका थिए ।
उनले झापा ५ बाट आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन गराएका छन् ।
प्रकाशित मिति २०८२ माघ ८ गते बुधबार ११:५०




