पोखरा ।
२० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने भएको छ। पोखरा रंगशालाबाट सुरु हुने यो म्याराथन यसपटक नयाँ रुटमा दौडिँदै बाराहीघाट चोकमा पुगेर समापन हुने आयोजकले जनाएका छन्।
सुजल डेरी प्रालीको ‘सफल दूध’ मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। म्याराथनमा पहिलो हुने धावकले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यसैगरी दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
‘स्वास्थ्यका लागि, पोखराका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता भूतपूर्व खेलाडी मञ्च नेपालले व्यवस्थापन गरेको हो। यस वर्ष म्याराथनमा पहिलो पटक ‘म्याराथन नेपाल’ विधा समावेश गरिएको छ भने गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न ‘गण्डकी उत्कृष्ट’ विधाको समेत व्यवस्था गरिएको छ। प्रतियोगितामा मुख्य म्याराथनसँगै महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर दौड, ५ किलोमिटर छात्र–छात्रा दौड, ४५ वर्षमाथिको भेट्रान दौड, ह्विल चियर र दृष्टिविहीनतर्फका प्रतिस्पर्धाहरू समेत समावेश गरिएका छन्। यी सबै विधाहरूमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन्।
मुख्य प्रायोजक सुजल डेरीले खेलकुद र स्वास्थ्यको सम्बन्धलाई मजबुत बनाउन यो सहकार्य गरेको बताएको छ। उपभोक्ताको पौष्टिकता र सहजतालाई ध्यानमा राखेर दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको सफल दूधले पछिल्लो एक दशकदेखि खेलकुद क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएको छ। पोखराको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ। मोफसलमा हुने सबैभन्दा ठूलो म्याराथनका रूपमा स्थापित यस कार्यक्रमले पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउन मद्दत पुर्याएको छ।
सुजल डेरीले सम्पूर्ण पोखरेलीलाई फागुन २ गते हुने म्याराथनमा सहभागी हुन र ‘स्वास्थ्यका लागि, पोखराका लागि’ दौडिन आह्वान गरेको छ। उपभोक्ताको स्वास्थ्यप्रतिको भरोसा कायम राख्न सफल दूधले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। स्वदेशी तथा विदेशी धावकहरूको सहभागिता रहने यो प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय साख अझ बढाउने अपेक्षा गरिएको छ। म्याराथनको सफल सञ्चालनका लागि विभिन्न उपसमितिहरू बनाएर तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएका छन्।
प्रकाशित मिति २०८२ माघ १२ गते आइतबार ०९:५०




