२०८३ साउन २१ गते बिहीबार

यातायात व्यवसायीहरुको आग्रहः चुनावी घोषणा पत्रमा सार्वजनिक यातायातलाई प्राथमिकता दिइयोस्

यातायात व्यवसायीहरुको आग्रहः चुनावी घोषणा पत्रमा सार्वजनिक यातायातलाई प्राथमिकता दिइयोस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २१ गते मंगलबार ११:३१

महासंघले सार्वजनिक यातायातको सुधार हुने गरी चुनावी घोषणा पत्र ल्याउनका लागि दबाब दिन देशभरका यातायात व्यवसायी र मजदुरहरुलाई पनि अपिल गरेको छ ।

पोखरा ।

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले सो आग्रह गरेका हुन् ।

उनले निर्वाचनमा सार्वजनिक यातायातको क्षेत्रको सुधारमा प्राथमिकता दिने राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

महासंघले सार्वजनिक यातायातको सुधार हुने गरी चुनावी घोषणा पत्र ल्याउनका लागि दबाब दिन देशभरका यातायात व्यवसायी र मजदुरहरुलाई पनि अपिल गरेको छ ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने कुरामा पनि राजनीतिक पार्टीहरुले जोड नदिए आसन्न निर्वाचनमा उनीहरुलाई हानी हुने चेतावनी समेत दिए ।

उनले भने,‘सबै राजनीतिक दलहरुले यस पटक सार्वजनिक यातायात क्षेत्रलाई अत्यन्त प्राथमिकताका साथ राखियोस भन्ने म अनुरोध गर्न चाहन्छु । र यातायात क्षेत्रमा रहेका देशभरका सबै साथीहरुले पनि चुनावी घोषणा पत्रमा यातायात क्षेत्रको कुरा कसरी प्राथमिकताका आधारमा राख्नु भएको छ भन्ने प्रश्न सबै उम्मेदवारहरुलाई गर्न पनि म अनुरोध गर्न चाहन्छु । यस पटक जुन राजनीतिक दलहरुले यातायात क्षेत्रलाई प्राथमिकतामा राख्छन् । त्यो प्राथमिकताको आधारमा हामीले पनि सोचेर जुन राजनीतिक पार्टीले कार्यान्वयन हुने गरी यस क्षेत्रका लागि राम्रो घोषणा पत्र ल्याउँछ, उसलाई निर्वाचनमा हामी सहयोग पनि गर्नेछौँ ।’

महासंघले यातायातका साधनहरुको आयातमा सहजीकरण हुने गरी नीतिगत योजना ल्याउने कुरा पनि निर्वाचन घोषणा पत्रमा प्रतिवद्धता जनाउन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन ।

प्रकाशित मिति २०८२ माघ २१ गते मंगलबार ११:३१
हजुरको प्रतिक्रिया