२०८३ साउन २१ गते बिहीबार

बागलुङका २ हजार ३०२ किशोरीलाई एचपिभि खोप लगाइने

बागलुङका २ हजार ३०२ किशोरीलाई एचपिभि खोप लगाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २७ गते सोमबार ०७:२६

बागलुङ। प्रदेश जनस्वास्थ्य कार्यालयले फागुन महिनालाई खोप महिनाको रुपमा नियमति अभियान पनि संचालन गर्ने भएको छ । निर्वाचनका कार्यक्रम छलेर भएपनि फागुन महिनालाई खोप महिनाको रुपमा नियमित बनाइने भएको हो । तोकिएका उमेर समूहको कोही...

बागलुङ।

प्रदेश जनस्वास्थ्य कार्यालयले फागुन महिनालाई खोप महिनाको रुपमा नियमति अभियान पनि संचालन गर्ने भएको छ । निर्वाचनका कार्यक्रम छलेर भएपनि फागुन महिनालाई खोप महिनाको रुपमा नियमित बनाइने भएको हो ।

तोकिएका उमेर समूहको कोही नछुटाउने गरी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले खोपका लागि विद्यालय र घरघरसम्म जाने टोली गठन गरेको हो ।

निर्वाचनलाई असर नपर्ने गरी फागुनभित्र जिल्लाभरका १० वर्ष उमेर पुगेका तथा कक्षा ६ मा पढ्ने बालिकालाई एचपिभि खोप लगाउन टोली गठन भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बताए । त्यसबाहेक नियमित खोप सेवा र छुटेका बालबालिकालाई पनि नियमित खोपमा जोड्ने काम गरिने छ । जिल्ला खोप समन्वय समितिको बैठकले खोप लगाउन सबै स्वासथ्यकर्मीलाई खटाएको हो ।

खोप समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले नागरिकको स्वास्थ्यभन्दा ठूलो अन्य केही नहुने भएकोले यो अभियान जारी रहने निर्णय गरेको हो । यो वर्ष जिल्लाका २ हजार ३ सय २ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्वको एचपिभि खोप लगाइने भएको हो ।

खोपका लागि हरेक पालिकामा समय मिलाइएको छ । बागलुङ नगरपालिकाभित्र फागुनको १० गतेदेखि १५ गतेसम्म, गलकोट नगरपालिकामा १ देखि ५ गतेसम्म, ढोरपाटन नगरपालिकामा १० देखि १४ गतेसम्म र जैमिनी नगरपालिकामा १० देखि १२ गतेसम्म घरदैलो गरिने भएको हो । अन्य ६ गाउँपालिकामा पनि तोकिएको समय राखिएको छ । उक्त समयभित्र स्वास्थ्यकर्मीहरु विद्यालय र घरघरमा पुगेर खोप लगाउने छन् ।

गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप लगाइएको थियो । उक्त अवसरमा ११ हजार १ सय ७७ जनाले खोप लगाएका थिए । यो वर्ष पनि तोकेको लक्ष्य अनुसार सबैलाई खोप लगाइने छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्ष कक्षा ६ मा पढ्ने बालिका बाहेक १० वर्ष उमेर समूहका ६ जना भने विद्यालय बाहिर रहेको तथ्यांक छ । उनीहरुलाई पनि घरमै पुगेर खोप लगाइने भएको हो ।

बागलुङ नगरपालिकाले भने केही दिनदेखि नै नियमित अभियानमा छुटेका खोप लगाउने बालबालिका र पाठेघरको मुखको क्यान्सर बिरुद्दको खोप लगाउनुपर्ने बालिकाहरुको खोजी गरेको थियो । बजार क्षेत्रमा डेरा गरी बस्ने मजदुर तथा बसाई सरेर आउनेहरु खोप अभियानबाट छुटेको थाहा पाएपछि नगर स्वास्थ्य शाखाले खोजी गरेको हो ।

हरेक बर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दै अद्यावधिक समेत गर्नुपर्ने प्रावधान छ । त्यसका लागि यो अभियानले साथ दिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बताए । आगामी बैसाख महिनाभित्र सबै खोप पुर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गरिनेछ । सबै पालिका पछि जिल्लालाई पनि घोषणा गर्ने लक्ष्यमा काम भैरहेको शर्माको भनाइ छ ।

प्रकाशित मिति २०८२ माघ २७ गते सोमबार ०७:२६
हजुरको प्रतिक्रिया