सरोज बने सर्वाेत्कृष्ट
पोखरा ।
बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न ‘नवौं विरेन स्मृति’ एवं १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ ।
टुंडिखेलमा भएको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँले उपाधि जितेको हो ।
लामागाउँलाई उपाधि दिलाउन संगम ठकुरीले निर्णायक गोल गरे । यो जीतसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्यिन बनेको छ ।
च्याम्पियन बनेको लामागाउँले नगद रु २ लाख २ सय २२ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै रामघाटले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्याे ।
कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट लामागाउँका सरोज तितुङ सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।
उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै रतन हिताङ, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँकै संगम ठकुरी घोषित भए ।
यसैगरी उत्कृष्ट मिडफिल्डरका रुपमा रामघाटका सुदेश गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा फायर पिज्जाका मनिष ठकुरी घोषित भए । उनीहरुले ट्रफीसहित जनही नगद रु ८÷८ हजार प्राप्त गरे ।
प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार ०४:०९




