२०८३ साउन २१ गते बिहीबार

समावेशी आमा समूहको साधारण सभामा चार जनालाई सम्मान

समावेशी आमा समूहको साधारण सभामा चार जनालाई सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २ गते शनिबार १२:४७

समूहका सक्रिय सदस्य रुकुमाया थापा र भद्र कुमारी गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १४ का वडाध्यक्ष बोध बहादुर कार्की तथा आमा समूहका अध्यक्ष चन्द्रकला कुवंर क्षेत्रीले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।

पोखरा ।

पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको समावेशी आमा समूहको दोस्रो साधारण सभामा चार जनालाई सम्मान गरिएको छ ।

समूहका सक्रिय सदस्य रुकुमाया थापा र भद्र कुमारी गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १४ का वडाध्यक्ष बोध बहादुर कार्की तथा आमा समूहका अध्यक्ष चन्द्रकला कुवंर क्षेत्रीले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।

यसैगरी, समावेशी टोलका कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल समिक्षा अधिकारी र आयुष थापालाई सम्मान–पत्रसहित सम्मान गरिएको थियो ।

साधारण सभालाई सम्बोधन गर्दै वडाध्यक्ष कार्कीले महिलाहरूलाई आत्मनिर्भर बन्न आग्रह गर्दै महिला उद्यमशीलताको विकासमा जोड दिए ।

आमा समूहलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिँदै वडाबाट टोकन मनी उपलब्ध गराइने र बाँकी आवश्यक रकम समूहले व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले आमा समूहको सक्रियताले टोलको समग्र विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे ।

त्यसैगरी, समावेशी टोल विकास संस्थाका अध्यक्ष राजु गिरीले टोल विकास संस्था र आमा समूहबीच सहकार्य भइरहेको बताउँदै सम्मान कार्यक्रमले विद्यार्थीदेखि सदस्यसम्म सबैलाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

आमा समूहका अध्यक्ष चन्द्रकला कुवंर क्षेत्रीले समूह स्थापना भएदेखि नै सबैको साथ र सहयोग प्राप्त भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव र सहकार्य आवश्यक रहेको बताइन् ।

सचिव लक्ष्मी खतिवडाले सञ्चालन गरेको कार्यक्रममा शान्ता परियारले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रकाशित मिति २०८२ फागुन २ गते शनिबार १२:४७
हजुरको प्रतिक्रिया