म्याग्दी ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजार नौ सय ३१ मतान्तरसहित निर्वाचित भएका छन् ।
शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका स्वतन्त्र उम्मेदवार पुनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गरे ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले ६ हजार ६ सय ७३ मत र नेकपाका अर्जुन थापाले ३ हजार पाँच सय ३० मत प्राप्त गरे ।
एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए । ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।
बिजेता पुनले आफ्ना समर्थकहरुलाई विजय उत्सवको आयोजना नगर्न सूचना जारी गरेका छन् ।
म्याग्दीमा अब केही बेरमा समानुपातिक तर्फको मत गणना थालिने जानकारी निर्वाचन कार्यालयले दिएको छ।
प्रकाशित मिति २०८२ फागुन २३ गते शनिबार ०९:१८




